ओलीको दाबीः निर्वाचन सार्न सरकार र विदेशी शक्तिको षड्यन्त्र भै रहेको छ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा तत्काल निर्वाचन हुने वातावरण नरहेको दाबी गर्दै सरकार र केही विदेशी शक्तिहरूले निर्वाचन सार्ने षड्यन्त्र गरिरहेको आरोप लगाएका छन्।
मंगलबार एमाले पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि वर्तमान सरकार असहज अवस्थामा पुगेको बताए। त्यसकै कारण निर्वाचनलाई आफैँ सार्ने वा विभिन्न चरणमा विभाजन गरेर गराउने योजना बनिरहेको उनको भनाइ थियो।
बैठक स्रोतका अनुसार ओलीले निर्वाचन प्रक्रिया कमजोर पार्ने उद्देश्यले सरकार र बाह्य शक्तिहरू सक्रिय भएको दाबी गर्दै यसले लोकतन्त्रलाई गम्भीर चुनौती दिएको बताए। उनले सर्वोच्च अदालतका न्यायाधीशहरूमाथि धम्की र दबाब दिइएको तथा संसद् पुनर्स्थापना हुन नदिने प्रयास भइरहेको आरोप पनि लगाए।
अध्यक्ष ओलीले देशको अस्तित्व, राष्ट्रिय अखण्डता र संविधानको रक्षा अहिले चुनौतीपूर्ण बन्दै गएको उल्लेख गर्दै पार्टी पंक्तिलाई सतर्क रहन आग्रह गरे। उनले विकसित राजनीतिक घटनाक्रमलाई गम्भीर रूपमा मूल्यांकन गर्दै पार्टीले जनताको पक्षमा स्पष्ट भूमिका खेल्नुपर्नेमा जोड दिए।













