विशेष महाधिवेशनले कांग्रेसलाई एकताबद्ध बनाउने डा. शेखर कोइरालाको भनाइ

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष महाधिवेशनले कांग्रेसलाई एकताबद्ध बनाउने डा. शेखर कोइरालाको भनाइ

काठमाडौ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले पार्टीभित्र देखिएका मतभेद अन्त्य गर्न विशेष महाधिवेशन आवश्यक रहेको बताएका छन्। उनले विशेष महाधिवेशन केन्द्रीय समितिले नै बोलाउनुपर्ने धारणा राख्दै यसले कांग्रेसभित्र एकताको सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे।

मंगलबार काठमाडौंको बालुवाटारमा ३० भन्दा बढी केन्द्रीय सदस्यहरूसँगको छलफलमा डा. कोइरालाले राष्ट्रियसभा र प्रतिनिधिसभाका समानुपातिक उम्मेदवार टुंगो लगाएपछि विशेष महाधिवेशनमा जानु उपयुक्त हुने बताए। उनका अनुसार माघ ६ गतेपछि महाधिवेशन आह्वान गर्दा मनोनयनसम्बन्धी सबै प्रक्रिया पूरा हुने र पार्टीभित्र सहमतिको वातावरण बन्नेछ।

उनले केन्द्रीय समितिबाट आह्वान गरिने विशेष महाधिवेशन सबै पक्षलाई स्वीकार्य हुने दाबी गर्दै आफू त्यसका लागि वातावरण निर्माणमा सक्रिय रहेको बताए। पार्टीलाई संस्थागत रूपमा अगाडि बढाउन आन्तरिक लोकतन्त्र बलियो बनाउनुपर्नेमा उनले जोड दिए।

डा. कोइरालाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा कांग्रेसले गठबन्धनको बाटो नअपनाउनुपर्ने धारणा पनि व्यक्त गरे। उनका अनुसार केही सिटमा फाइदा लिन गठबन्धन गर्दा पार्टीभित्रको एकतामा असर पर्ने र समग्र रूपमा कांग्रेसप्रतिको जनविश्वास कमजोर हुन सक्छ।

छलफलमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टी जोगाउन लचिलो र मध्यमार्गी सोच आवश्यक रहेको बताएका थिए। केन्द्रीय सदस्य पुष्पा भुसालले मतभेद व्यवस्थापन गर्दै कांग्रेसलाई एकताबद्ध बनाउने विकल्प खोज्नुपर्नेमा जोड दिइन्।