विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सानेपा घेराउ

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष महाधिवेशनको माग गर्दै कांग्रेस कार्यकर्ताद्वारा सानेपा घेराउ

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग तीव्र बन्दै जाँदा त्यसका पक्षधर कार्यकर्ताहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन्।

नियमित १५ औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयन हुन नसकेपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको तयारी अघि बढाइएको हो। पार्टी विधानको धारा १७(२) अनुसार ५४ प्रतिशतभन्दा बढी महाधिवेशन प्रतिनिधिहरूको हस्ताक्षरसहित विशेष महाधिवेशनको माग केन्द्रिय नेतृत्वसमक्ष बुझाइएको तीन महिना पुग्न लाग्दा पनि कुनै ठोस निर्णय नआएको भन्दै पक्षधरहरू आक्रोशित भएका छन्।

उनीहरूले नेतृत्वले जानाजानी मागलाई बेवास्ता गरेको आरोप लगाउँदै केन्द्रीय कार्यालय अगाडि नाराबाजी गरेका थिए। विशेष महाधिवेशन पक्षधर समूहले पुस मसान्तभित्र भृकुटीमण्डपमा महाधिवेशन गर्ने गरी हल बुकिङसमेत गरिसकेको जनाएको छ। यता, संस्थापन पक्षले भने नियमित महाधिवेशनलाई वैशाखमा सारेर अघि बढ्ने निर्णय गरेको छ।

कांग्रेसभित्र चर्किदै गएको यो आन्तरिक विवादले आगामी फागुनमा हुने संसदीय निर्वाचनमा समेत नकारात्मक असर पार्ने संकेत देखिएको छ। पार्टी एकता जोगाउन विभिन्न तहमा छलफल भए पनि हालसम्म सहमति जुट्न सकेको छैन।