राष्ट्रियसभा निर्वाचनमा एमालेले राख्यो ७ सिटको दाबी
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आगामी राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एमालेले चुनावी गठबन्धनमा ७ सिट दाबी गरेको छ।
पार्टी सचिवालय बैठकपछि कांग्रेस र नेकपासँग भएको छलफलमा एमालेले प्रत्येक प्रदेशबाट एक–एक सिटका दरले ७ सिट माग गरेको उपमहासचिव लेखराज भट्टले जानकारी दिए। भट्टका अनुसार सिट बाँडफाँट र उम्मेदवारको विषयमा हालसम्म कुनै ठोस निर्णय हुन सकेको छैन।
सचिवालय बैठकले गठबन्धनसम्बन्धी थप छलफल गर्ने र उम्मेदवारको अन्तिम टुंगो लगाउने जिम्मेवारी पार्टी अध्यक्षलाई दिएको उनले बताए। उनले राष्ट्रियसभा निर्वाचनमा सहकार्य गरेर अघि बढ्ने विषयमा दलहरूबीच समझदारी भए पनि प्रतिनिधिसभा निर्वाचनका विषयमा भने कुनै औपचारिक छलफल नभएको स्पष्ट पारे।
राष्ट्रियसभाका १८ सिट रिक्त हुन लागेकाले माघ ११ गते निर्वाचन तय भएको छ। सो निर्वाचनमा कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबीच गठबन्धन गरेर जाने सहमति भइसकेको भए पनि सिट बाँडफाँटलाई लिएर अन्तिम निर्णय आउन बाँकी छ। राजनीतिक दलहरूबीच छलफल जारी रहेकाले आगामी दिनमा सहमति जुट्ने अपेक्षा गरिएको छ।












