राष्ट्रिय सभा निर्वाचन: कांग्रेस, एमाले, नेकपा र जसपा बीच तालमेल सहमती नजिक
Prime TV News एक महिना अगाडि काठमाडौ । आगामी राष्ट्रिय सभा निर्वाचनका लागि दलहरूबीचको तालमेल लगभग टुङ्गिएको छ ।
नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी र जनता समाजवादी पार्टी बीच हुने प्रारम्भिक सिट बाँडफाँडको तयारी अन्तिम चरणमा पुगेको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन्।
उनका अनुसार, कांग्रेस–एमालेले ७/७, नेकपाले ३ र जसपाले १ सिट पाउनेगरी तालमेलको तयारी भइरहेको छ। लेखकले भने, “सँख्यामा लगभग टुंगिएको छ, तर केही क्लस्टर टुंगिन बाँकी छ। साँझसम्म सबै विषय टुंग्याइनेछ।”
तालमेलका क्रममा कांग्रेसले ८ सिट माग गरेकोमा ७ सिटमा चित्त बुझाएको छ। त्यसैगरी, नेकपा ४ सिट र जसपा २ सिट मागिरहेका छन्। नेताहरू यी दलहरूलाई पनि चित्त बुझाउन पहल गरिरहेका छन्। यसपालि माघ ११ गते राष्ट्रिय सभाका १८ सिटमा निर्वाचन हुनेछन्। निर्वाचन आयोगले उम्मेदवारी दर्ताको समय बुधबार तोकेको छ।
तालमेल टुंगिएपछि आगामी निर्वाचनमा दलहरूबीच प्रतिस्पर्धा भन्दा सहकार्यमा जोड दिने सम्भावना देखिएको छ।













