गृहमन्त्री अर्यालद्वारा प्रदेशस्तरीय सुरक्षा कार्यशक्तिलाई निर्देशन, निर्वाचन शान्तिपूर्ण बनाउन जोड

User Image Prime TV News एक महिना अगाडि
Image of गृहमन्त्री अर्यालद्वारा प्रदेशस्तरीय सुरक्षा कार्यशक्तिलाई निर्देशन, निर्वाचन शान्तिपूर्ण बनाउन जोड

काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सातै प्रदेशका कर्मचारी र सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्यांकन प्रदेश तहबाटै गर्ने र सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण तथा मूल्यांकन गरेर शान्ति सुरक्षालाई बलियो बनाउन निर्देशन दिएका छन्।

मंगलबार अर्यालको अध्यक्षतामा सातै प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखबीच सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल भएको थियो।

गृहमन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। उनले कर्मचारीहरूलाई प्रशासकभन्दा सहजकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिकामा रहन निर्देशन दिएका छन्।

त्यसैगरी, उनले सुरक्षा संयन्त्र चुस्त र मजबुत बनाउन, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समन्वय कायम गर्न, साथै संघ र प्रदेशबीच सहकार्य र समन्वय बढाउन जोड दिएका छन्।