गृहमन्त्री अर्यालद्वारा प्रदेशस्तरीय सुरक्षा कार्यशक्तिलाई निर्देशन, निर्वाचन शान्तिपूर्ण बनाउन जोड
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । गृहमन्त्री ओमप्रकाश अर्यालले सातै प्रदेशका कर्मचारी र सुरक्षा निकायलाई राष्ट्रिय सुरक्षासँग सम्बन्धित जोखिमको मूल्यांकन प्रदेश तहबाटै गर्ने र सुरक्षासम्बन्धी सूचना संकलन, विश्लेषण तथा मूल्यांकन गरेर शान्ति सुरक्षालाई बलियो बनाउन निर्देशन दिएका छन्।
मंगलबार अर्यालको अध्यक्षतामा सातै प्रदेशका प्रमुख सचिव, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव र सुरक्षा निकायका प्रमुखबीच सुरक्षा अवस्था, अपराध नियन्त्रण, सीमा सुरक्षा र आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका विषयमा छलफल भएको थियो।
गृहमन्त्री अर्यालले कर्मचारी र सुरक्षा निकायको मनोबल उच्च राख्दै निर्वाचन शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गराउन प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक रहेको बताए। उनले कर्मचारीहरूलाई प्रशासकभन्दा सहजकर्ता, समन्वयकर्ता र उत्प्रेरकको भूमिकामा रहन निर्देशन दिएका छन्।
त्यसैगरी, उनले सुरक्षा संयन्त्र चुस्त र मजबुत बनाउन, धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र समन्वय कायम गर्न, साथै संघ र प्रदेशबीच सहकार्य र समन्वय बढाउन जोड दिएका छन्।













