कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने प्रचण्डको घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने प्रचण्डको घोषणा

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी आगामी कुनै पनि निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने स्पष्ट घोषणा गरेका छन्।

राष्ट्रिय सभा सदस्य निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपाबीच गठबन्धनको प्रयास भइरहेको चर्चा चलिरहेका बेला प्रचण्डले ती सबै अड्कलबाजीलाई अस्वीकार गरेका हुन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले राष्ट्रिय सभा र प्रतिनिधि सभा निर्वाचन दुवैमा पार्टी एक्लै प्रतिस्पर्धा गर्ने जिकीर गरे। एमाले अध्यक्ष केपी शर्मा ओलीसँग गठबन्धन हुँदैछ भन्ने चर्चाप्रति प्रतिक्रिया दिँदै उनले त्यस्तो कुनै छलफलसमेत नभएको बताए।

ओलीसँगको भेटघाटबारे स्पष्ट पार्दै प्रचण्डले राजनीतिक भेटवार्ता हुनु सामान्य प्रक्रिया भएको उल्लेख गरे। राष्ट्रपति र प्रधानमन्त्रीसँग पनि भेटघाट भएकै उदाहरण दिँदै उनले त्यसलाई गठबन्धनसँग जोडेर हेर्नु गलत भएको बताए। उनले सञ्चारमाध्यमलाई स्पष्ट शब्दमा ‘गठबन्धन हुँदैन’ भनेर लेख्न आग्रहसमेत गरे।

प्रचण्डले रवि लामिछाने र बालेन शाहको सम्भावित एकताबाट आफू नडराएको दाबी पनि गरे। आफ्नो नेतृत्वको सरकारमा रवि लामिछानेलाई दुई पटक गृहमन्त्री बनाएको स्मरण गराउँदै उनले आपसी सम्बन्ध र संवाद सहज रहेको बताए।

भारत भ्रमणबारे प्रचण्डले पार्टीगत कार्यक्रममा सहभागी हुन दिल्ली गएको स्पष्ट पारे। भ्रमणका क्रममा भारतीय जनता पार्टीका केही नेतासँग भेटघाट भए पनि ती अनौपचारिक मात्र भएको र कुनै राजनीतिक सहमति वा औपचारिक वार्ता नभएको उनको भनाइ छ।