कुनै पनि पार्टीको औपचारिक सदस्यता नलिएको मन्त्री घिसिङको दावी

User Image Prime TV News १ हप्ता अगाडि
Image of कुनै पनि पार्टीको औपचारिक सदस्यता नलिएको मन्त्री घिसिङको दावी

काठमाडौ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री कुलमान घिसिङले आफू कुनै पनि राजनीतिक दलको सदस्य नरहेको स्पष्ट पारेका छन्।

काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै घिसिङले हालसम्म कुनै पार्टीको औपचारिक सदस्यता नलिएको दाबी गरेका हुन्।

उनले दलीय राजनीतिमा संलग्न भएको भन्ने चर्चालाई अस्वीकार गर्दै भने, “आजको दिनसम्म म कुनै पनि पार्टीको सदस्य छैन।” पछिल्ला दिनहरूमा उनको राजनीतिक सक्रियताबारे विभिन्न अड्कलबाजी भइरहेका बेला उनले सार्वजनिक रूपमा यस्तो स्पष्टीकरण दिएका हुन्।

हिजो बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री सुशीला कार्कीले दलीय राजनीतिमा सक्रिय रहेका मन्त्रीहरूलाई राजीनामा दिन निर्देशन दिएपछि घिसिङको भूमिकाबारे थप चासो बढेको थियो। सोही सन्दर्भमा उनले आफू गैरदलीय रहेको दाबी गर्दै सरकारको निर्णयको सम्मान गर्ने संकेत दिएका छन्।

यसैबीच, कुलमान घिसिङ राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको उपसभापति बन्ने समझदारी भएको चर्चा बाहिरिएको छ। एकताअघि उज्यालो नेपाल पार्टीमा सक्रिय देखिएका घिसिङ रास्वपामा भने हालसम्म औपचारिक रूपमा सक्रिय नरहेको बताइएको छ ।