ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्प समेत प्रयोग हुन सक्ने ट्रम्पको भनाई
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले डेनमार्कको अर्ध–स्वायत्त क्षेत्र ग्रीनल्याण्डलाई अमेरिकामा गाभ्न सैन्य विकल्पसमेत प्रयोग हुन सक्ने संकेत दिएका छन्।
ह्वाइट हाउसले ग्रीनल्याण्ड प्राप्तिलाई अमेरिकी ‘राष्ट्रिय सुरक्षाको प्राथमिकता’ भन्दै यसका लागि विभिन्न विकल्पमाथि छलफल भइरहेको पुष्टि गरेको छ।
मंगलबार जारी विज्ञप्तिमा ह्वाइट हाउसले अमेरिकी सेनाको प्रयोग सधैँ कमाण्डर–इन–चिफको नियन्त्रणमा रहने विकल्प भएको उल्लेख गरेको छ। राष्ट्रपति ट्रम्पले सुरक्षा कारण देखाउँदै अमेरिकालाई ग्रीनल्याण्ड आवश्यक रहेको दाबी दोहोर्याउँदै आएका छन्।
तर, डेनमार्ककी प्रधानमन्त्री मेटे फ्रेडरिक्सनले अमेरिकाले ग्रीनल्याण्डमाथि कुनै पनि प्रकारको आक्रमण गरेमा त्यसले नेटो सैन्य गठबन्धनको भविष्य नै समाप्त गर्ने चेतावनी दिएकी छन्। उनको भनाइपछि युरोपेली राजनीतिमा गम्भीर तरंग पैदा भएको छ।
यसैबीच बेलायत, फ्रान्स, जर्मनी, इटाली, पोल्याण्ड र स्पेनका नेताहरूले संयुक्त विज्ञप्ति जारी गर्दै डेनमार्कप्रति समर्थन जनाएका छन्।
उनीहरूले ग्रीनल्याण्ड त्यहाँका जनताको भएको र यसको भविष्यबारे निर्णय गर्ने अधिकार डेनमार्क र ग्रीनल्याण्डसँग मात्र रहेको स्पष्ट पारेका छन्। युरोपेली नेताहरूले संयुक्त राष्ट्रसंघको बडापत्र, सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान गर्न ट्रम्प प्रशासनलाई आग्रह गरेका छन्।
ग्रीनल्याण्डका प्रधानमन्त्री जेन्स–फ्रेडरिक निल्सनले पनि अन्तर्राष्ट्रिय कानुनको सम्मान र सम्मानजनक संवादमार्फत समस्या समाधान हुनुपर्नेमा जोड दिएका छन्।
यो विवाद अमेरिकाले भेनेजुएलामा गरेको सैन्य हस्तक्षेपपछि अझ चर्किएको हो। भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी अमेरिका लगिएपछि ह्वाइट हाउसका वरिष्ठ सल्लाहकार स्टिफन मिलरकी पत्नी केट मिलरले सामाजिक सञ्जालमा ग्रीनल्याण्डलाई अमेरिकी झण्डाको रङमा रंगाइएको नक्सा पोस्ट गर्दै ‘चाँडै’ भन्ने शब्द प्रयोग गरेकी थिइन्।
यसअघि सोमबार स्टिफन मिलरले ग्रीनल्याण्ड अमेरिकाको हिस्सा हुनुपर्ने कुरा सरकारको औपचारिक धारणा भएको बताएका थिए। सीएनएनसँगको अन्तर्वार्तामा उनले ग्रीनल्याण्डको भविष्यका लागि अमेरिकासँग कसैले पनि युद्ध नगर्ने दाबी गरेका छन्।












