राष्ट्रियसभा सदस्य निर्वाचनका लागि आज उम्मेदवारी मनोनयन
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रियसभा सदस्य निर्वाचनको प्रक्रिया आजबाट औपचारिक रूपमा अघि बढेको छ।
निर्वाचन आयोगले आज देशभर उम्मेदवारहरूको मनोनयन दर्ता सुरु गरेको हो। आयोगका अनुसार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मनोनयन पत्र दर्ता गर्न सकिनेछ।
आयोगले आगामी माघ ११ गते राष्ट्रियसभा सदस्य निर्वाचन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ। सो निर्वाचनबाट राष्ट्रियसभामा रिक्त हुन लागेको १८ सदस्य चयन गरिनेछ।
आयोगले यसअघि पुस १९ गते मतदाता नामावली प्रकाशन गरेको थियो भने मंगलबार दाबी–विरोधको प्रक्रिया पूरा गरी अन्तिम मतदाता नामावली सार्वजनिक गरिसकेको छ।
निर्वाचन कार्यतालिकाअनुसार पुस २४ गते उम्मेदवारविरुद्ध उजुरी दर्ता गर्ने, पुस २७ गते उम्मेदवारले नाम फिर्ता लिन सक्ने र सोही दिन अन्तिम उम्मेदवार नामावली प्रकाशन गरिनेछ। पुस २८ गते उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने आयोगले जनाएको छ।
निर्वाचन आयोगका अनुसार माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म मतदान हुनेछ। राष्ट्रियसभामा आगामी फागुन २० गतेदेखि १८ सदस्यको पद रिक्त हुँदैछ।
राष्ट्रिय जनगणना २०७८ का आधारमा मतदाता संख्या र मतभार तय भइसकेको आयोगले जनाएको छ। राष्ट्रियसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्य र स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष तथा उपाध्यक्ष मतदाता रहने व्यवस्था छ।
निर्वाचनको मिति नजिकिँदै जाँदा राजनीतिक दलहरू उम्मेदवार छनोट र रणनीति बनाउन सक्रिय देखिएका छन्। यो निर्वाचनले राष्ट्रियसभाको संरचना र शक्ति सन्तुलनमा प्रत्यक्ष असर पार्ने भएकाले राजनीतिक चासो उच्च बनेको छ।












