कांग्रेसमा विवाद चर्किदै, आज विशेष महाधिवेशन आह्वान हुँदै
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र आन्तरिक विवाद चर्किँदै गएको अवस्थामा आज विशेष महाधिवेशन आह्वान हुने भएको छ। विशेष महाधिवेशन पक्षधरले गठन गरेको ‘दोस्रो विशेष महाधिवेशन सचिवालय’ले पत्रकार सम्मेलनमार्फत् पार्टी प्रतिनिधिहरूलाई औपचारिक आह्वान गर्ने तयारी गरेको हो।
विशेष महाधिवेशन सचिवालयका तर्फबाट शान्ति सुरक्षा व्यवस्थाका लागि स्थानीय प्रशासनसँग समन्वय गरेका नेता मनोजमणि आचार्यका अनुसार आज बिहान ११ बजेतिर पत्रकार सम्मेलन आयोजना गरिनेछ। “पत्रकार सम्मेलन गरेर विशेष महाधिवेशन अभियानकर्ता पक्षधरको तर्फबाट सबै प्रतिनिधिलाई आमन्त्रण गरिन्छ,” उनले जानकारी दिए।
आचार्यका अनुसार पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पनि विशेष महाधिवेशन आह्वान गर्ने तयारी गरेका छन्। “महामन्त्रीज्यूहरूले प्रेस विज्ञप्ति वा भिडियो सन्देशमार्फत् पनि आह्वान गर्न सक्नुहुन्छ,” उनले भने।
यसअघि विशेष महाधिवेशन सचिवालयले मंगलबार शान्ति सुरक्षाको व्यवस्था मिलाउन जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएको थियो। साथै विशेष पक्षधरले महाधिवेशनका लागि भृकुटीमण्डपसमेत बुक गरिसकेको छ। सचिवालयले विशेष महाधिवेशन सफल पार्न विभिन्न समिति गठन गरिसकेको जनाएको छ।
महामन्त्रीद्वय थापा–शर्मा पक्षले नियमित महाधिवेशनको कार्यतालिका प्रभावित भएकाले अब विशेष महाधिवेशन अपरिहार्य भएको दाबी गर्दै आएको छ। तर पार्टी सभापति शेरबहादुर देउवा पक्षले भने फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनअघि विशेष महाधिवेशन गर्न सम्भव नरहेको अडान लिँदै आएको छ।












