जनमत पार्टीमा नेतृत्व परिवर्तनको माग, वरिष्ठ नेताहरूले अध्यक्ष सिके राउतलाई राजीनामा दिन आग्रह


काठमाडौ । जनमत पार्टीभित्र आन्तरिक विवाद चुलिएको छ। पार्टीका वरिष्ठ नेताहरूले पार्टी अध्यक्ष डा. सिके राउत र संगठन विभाग प्रमुख डा. जयकान्त राउतलाई २४ घण्टाभित्र पदबाट स्वेच्छिक राजीनामा दिनको लागि दबाब दिएका छन्।
वरिष्ठ उपाध्यक्ष अब्दुल खान, केन्द्रीय प्रवक्ता डा शरद सिंह यादव, जनमत युवा संघका केन्द्रीय संयोजक संजय कुमार यादव, स्वास्थ्यकर्मी जनमत संघका संयोजक सीके सिंह, सुदूरपश्चिमका वरिष्ठ प्रदेश इन्चार्ज राजाराम चौधरी र राष्ट्रिय परिषद सदस्य विक्रम बहादुर बमसहितका नेताहरूले नेतृत्व परिवर्तनको औपचारिक माग गरेका छन्।
उनीहरूले पार्टीको कार्यशैलीमा आएको कमजोरी, पारदर्शिताको अभाव र जनभावनाविपरीत गतिविधिहरूको कारण पार्टी आफ्नो मूल उद्देश्यमा अघि बढ्न नसकेको बताएका छन्। भदौ २३ र २४ गते जेनजी आन्दोलनले देशभर राजनीतिक भू–परिदृश्यमा नयाँ मोड ल्याएको र यसले पार्टीभित्र शुद्धीकरणको आवश्यकता थप स्पष्ट गरेको उल्लेख गरेका छन्।
नेताहरूका अनुसार, पार्टीलाई थप सशक्त, लोकतान्त्रिक, जवाफदेही र जनउत्तरदायी बनाउने उद्देश्यले नयाँ नेतृत्व आवश्यक रहेको वताएका छन् ।