कर्णालीबाट एमालेकी मिनासिंह रखाल राष्ट्रियसभा उम्मेदवार
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । नेकपा एमालेले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि कर्णाली प्रदेशबाट दैलेखकी मिनासिंह रखाललाई उम्मेदवार चयन गरेको छ। एमाले केन्द्रीय सदस्य रहेकी रखाललाई महिला क्लस्टरमा अघि सारिएको हो।
राष्ट्रियसभा निर्वाचनका लागि बुधबारदेखि उम्मेदवारको मनोनयन प्रक्रिया सुरु भएसँगै एमालेले कर्णालीको उम्मेदवार टुंग्याएको हो। पार्टी स्रोतका अनुसार सुरुवातमा पुरुष उम्मेदवार बनाउने विषयमा छलफल भए पनि अन्ततः महिला प्रतिनिधित्वलाई प्राथमिकता दिँदै रखालको नाममा सहमति जुटाइएको हो।
रखालले २०४७ सालमा नेकपा एमालेको सदस्यता लिएर राजनीतिक यात्रा सुरु गरेकी हुन्। २०५४ सालदेखि दैलेखको नारायण नगर कमिटी हुँदै जिल्ला कमिटी, पार्टी उपसचिव, साविक भेरी अञ्चल कमिटी सदस्यसम्मका विभिन्न जिम्मेवारी सम्हाल्दै उनी पार्टी राजनीतिमा सक्रिय रहँदै आएकी छन्। उनी तीन कार्यकाल एमाले केन्द्रीय सदस्यका रूपमा समेत काम गरिसकेकी छन्।
एमालेको ९औँ र १०औँ राष्ट्रिय महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित रखाल एमाले माओवादी एकतापछि बनेको तत्कालीन नेकपाको केन्द्रीय सदस्यसमेत भएकी थिइन्। साथै, उनले लामो समय अखिल नेपाल महिला संघको केन्द्रीय सचिव भएर पार्टीका जनवर्गीय संगठनलाई नेतृत्व दिएकी छन्।
२०७४ सालको प्रदेशसभा निर्वाचनमा उनी समानुपातिक प्रणालीबाट कर्णाली प्रदेशसभा सदस्य निर्वाचित भएकी थिइन्। आफू विगत तीन दशकदेखि निरन्तर पार्टी गतिविधिमा संलग्न रहेको उनले बताएकी छन्।
कर्णाली प्रदेशको मतभार र सम्भावना
कर्णाली प्रदेशमा राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेस सबैभन्दा बढी मतभारसहित अगाडि रहेको छ। कांग्रेससँग १ हजार ८७३ मतभार छ भने नेकपा माओवादी केन्द्रसँग १ हजार ६०१ र नेकपा एमालेसँग १ हजार १९५ मतभार रहेको छ। एकीकृत समाजवादीसँग २४३ मतभार छ।
राजनीतिक दलहरूबीच बनेको तालमेलका कारण कर्णाली प्रदेशबाट हुने दुई सिटको राष्ट्रियसभा निर्वाचनमा सर्वसम्मत निर्णय हुने सम्भावना देखिएको छ।












