कांग्रेसमा राष्ट्रियसभा उम्मेदवारी विवाद, महामन्त्री शर्माले गरे बैठक बहिष्कार

User Image Prime TV News १ हप्ता अगाडि
Image of कांग्रेसमा राष्ट्रियसभा उम्मेदवारी विवाद, महामन्त्री शर्माले गरे बैठक बहिष्कार

काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभा सदस्यको उम्मेदवारी छनोट प्रक्रियामा असन्तुष्टि जनाउँदै केन्द्रीय कार्यसम्पादन समिति बैठक बहिष्कार गरेका छन्।

उनी हिजोको बैठकमा पनि अनुपस्थित थिए। शर्माले बैठकमा सहभागी नहुने जानकारी कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई टेलिफोनमार्फत् दिएका थिए। पार्टी स्रोतका अनुसार उनले उम्मेदवार छनोटमा स्पष्ट मापदण्ड तय नगरी परम्परागत ६०/४० को भागबण्डाका आधारमा निर्णय गर्न खोजिएकोमा असन्तुष्ट हुँदै बैठकमा नबस्ने निर्णय लिएका हुन्।

शर्माले यो प्रक्रिया पारदर्शी नभएको र आफू साक्षी बन्न नसक्ने बताए। यस विषयमा उनले केही राजनीतिक र केही स्वास्थ्यसम्बन्धी कारणले बैठकमा सहभागी नभएको पनि बताए।

कांग्रेसभित्र राष्ट्रियसभा उम्मेदवार छनोटलाई लिएर देखिएको असहमति र आन्तरिक विवाद अझ स्पष्ट हुन थालेको छ, जसले आगामी निर्वाचन तयारीमा असर पार्न सक्ने अनुमान गरिएको छ।