राष्ट्रियसभा निर्वाचनः कांग्रेसमा ९ सिटको अन्तरिक भागबण्डा टुंगियो
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आगामी राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेसले ९ सिट पाएको छ। पार्टीभित्र पनि ती सिटमा अन्तरिक भागबण्डा टुंगिएको छ। स्रोतका अनुसार ९ सिटमध्ये संस्थापन समूहले ६ सिट र डा. शेखर कोइरालाको समूहले ३ सिट पाएको छ। उम्मेदवारी दर्ता आजै हुँदैछ।
डा. कोइरालाको समूहले मधेश प्रदेशबाट रञ्जित कर्ण, बागमती प्रदेशबाट गीता देवकोटा र लुम्बिनी प्रदेशबाट बासुदेव जंगलीलाई उम्मेदवार बनाएको छ। रञ्जित कर्ण मधेसको अपाङ्गता/अल्पसंख्यक, गीता देवकोटा महिला र बासुदेव जंगली अपाङ्गता/अल्पसंख्यक क्लस्टरबाट उम्मेदवार बनेका हुन्।
संस्थापन समूहले कोशी प्रदेशबाट सुनिलबहादुर थापा, मधेश प्रदेशबाट दलित कोटामा धर्मेन्द्र पासवान, गण्डकी प्रदेशबाट प्रा.डा. जगत तिमिल्सिना, लुम्बिनी प्रदेशबाट चन्द्रबहादुर केसी, कर्णाली प्रदेशबाट ललतिजंग शाही र सुदूरपश्चिमबाट खम्मबहादुर खातीलाई उम्मेदवार बनाएको छ।
पार्टीभित्र महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई यसपटक उम्मेदवारीको भाग नदिइएको बताइएको छ।













