हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभा उम्मेदवारी दिने घोषणा

User Image Prime TV News १ हप्ता अगाडि
Image of हर्क साम्पाङले सुनसरी-१ बाट प्रतिनिधि सभा उम्मेदवारी दिने घोषणा

काठमाडौ । धरान उपमहानगरपालिकाका मेयर तथा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले आगामी प्रतिनिधि सभा निर्वाचनमा सुनसरी-१ क्षेत्रबाट उम्मेदवारी दिने घोषणा गरेका छन्। सामाजिक सञ्जालमार्फत उनले लेखेका छन्, “म सुनसरी क्षेत्र नं. १ बाटै प्रतिनिधि सभाको चुनाव लड्नेछु! जय माटो! जय देश।”

२०७९ मा धरान उपमहानगरको मेयर निर्वाचित भएपछि साम्पाङले आफ्नो पार्टी श्रम संस्कृति पार्टी दर्ता गराएका थिए। यसअघि सुनसरी-१ बाट एमाले–जसपा गठबन्धनका उम्मेदवार अशोक राई विजयी भएका थिए।

आसन्न निर्वाचनमा अन्य प्रमुख उम्मेदवारहरूमा एमालेबाट केन्द्रीय सदस्य मन्जु भण्डारी, पूर्वप्रतिनिधि सभा सदस्य जयकुमार राई, तथा टिका माङ्लेन रहेका छन्। त्यस्तै, नेपाली कांग्रेसले प्रत्यक्षतर्फ उम्मेदवार उमेश थापा सहित आठ जनाको नाम सिफारिस गरेको छ।

कांग्रेसले सिफारिस गरेका अन्य उम्मेदवारहरूमा महाधिवेशन प्रतिनिधि चन्द्रशेखर लामा, क्षेत्रीय सल्लाहकार निर्मला गुरुङ, जिल्ला सचिव माधवबहादुर घिसिङ, केन्द्रीय सदस्य मीनबहादुर विश्वकर्मा, नेपाल महिला संघ जिल्ला सदस्य रुक्मिणा गौतम (कोपिला), महासमिति सदस्य विनोदकुमार राई र महाधिवेशन प्रतिनिधि सन्दीप श्रेष्ठ रहेका छन्।