पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुग्न सफल


काठमाडौ । पाकिस्तान एसिया कप क्रिकेटको सुपर फोरमा पुगेको छ । समूह चरणको अन्तिम खेलमा आयोजक यूएईलाई ४१ रनले पराजित गर्दै पाकिस्तान सुपर फोरमा पुगेको हो ।
टस हारेर सुरुमा ब्याटिङको निम्तो पाएको पाकिस्तानले पूरै २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १४६ रन बनाएको थियो । जवाफी ब्याटिङमा उक्रिएको यूएई १७ दशमलव ४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको हो । सुरुमा ब्याटिङ गरेको पाकिस्तानका लागि फखर जमानले ५० रन बनाए ।
शाहिन अफ्रिदीले अन्तिमसमयमा आक्रामक ब्याटिङ गर्दै १४ बलमा २१ रन हिर्काए । उनले बलिङदर्फसमेत दुई विकेट हात पारे । उनी खेलको प्लेयर अफ द म्याच बने । सुरुमा राम्रो खेलेको यूएईले अन्तिम सात विकेट मात्र २० रनमा गुमाउँदा खेल गुमाएको हो ।
समूह ‘ए’मा रहेको पाकिस्तान चार अंक जोड्दै सुपर फोरमा पुगेको हो । यो समूहबाट एक खेल अगाडि नै भारत सुपर फोरमा पुगिसकेको छ । यो समूहको अन्तिम खेलमा ओमानले भारतको सामना गर्नेछ । समूह ‘ए’मा भारत चार अंकसहित शीर्ष स्थानमा छ भने समान अंक रहेको पाकिस्तान दोस्रो स्थानमा छ ।