अमेरिकाले नेपाली भिसा आवेदनमा धरौटी अनिवार्य गर्ने निर्णय लागू
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । अमेरिकी सरकारले हालै भिसासम्बन्धी नियममा कडाइ गर्दै नेपाली नागरिकलाई पनि पर्यटक र व्यावसायिक भिसा आवेदनमा धरौटी राख्नुपर्ने निर्णय गरेको छ।
अमेरिकी विदेश मन्त्रालयले जनवरी २१ देखि लागू हुने गरी मंगलबार नयाँ अपडेट जारी गरेको छ। नियमअनुसार, भिसा अन्तर्वार्तामा कन्सुलर अफिसरले आवेदकको अवस्था हेरेर ५ हजारदेखि १५ हजार अमेरिकी डलर धरौटी तोक्नेछन्। रकम जम्मा गर्नुपर्नेछ र कुनै तेस्रो पक्ष वा एजेन्टलाई बुझाउन नहुने व्यवस्था गरिएको छ।
धरौटी राखेर अमेरिका जाने नेपालीहरूले अब तीन मात्र अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्न पाउने भएका छन् । न्यूयोर्कस्थित जोन एफ. केनेडी अन्तर्राष्ट्रिय विमानस्थल, वासिङ्गटन डीसीस्थित डलेस अन्तर्राष्ट्रिय विमानस्थल र बोस्टनको लोगन अन्तर्राष्ट्रिय विमानस्थल मात्र प्रयोग गर्न पाउने छन् । अन्य विमानस्थल प्रयोग गर्दा धरौटी रकम जफत हुने र भविष्यमा प्रवेशमा रोक लाग्ने चेतावनी पनि जारी गरिएको छ।
धरौटी रकम फिर्ता पाउन आवेदकले तोकिएको समयभित्र अमेरिका छोड्नु पर्ने, भिसा सर्त पालना गर्नु पर्ने र तोकिएका विमानस्थलबाट मात्र प्रस्थान गरेको प्रमाण पेश गर्नु पर्नेछ। भिसा म्याद नाघेपछि वा अमेरिका पुगेर शरणार्थी दाबी गर्नेको धरौटी रकम जफत हुनेछ।
नेपालसँगै बंगलादेश, भुटान, नाइजेरिया, भेनेजुएला लगायत ३८ देश यस नियमको सूचीमा छन्। अमेरिकी सरकारले यसलाई 'पाइलट प्रोग्राम'को रूपमा लागू गर्दै आएको हो । जसले समयमै अमेरिका फर्कने दर कम भएका देशहरूलाई लक्षित गरेको छ ।












