फागुन २१ पछि राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनको बहुमत, दलीय हैसियतमा ठूलो फेरबदल
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । आगामी फागुन २१ गतेपछि राष्ट्रिय सभामा प्रतिनिधित्व भएका दलहरूको हैसियतमा महत्वपूर्ण परिवर्तन हुने भएको छ। माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीचको तालमेलले नयाँ सन्तुलन तय गर्ने छ।
हाल राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमा कांग्रेस १६, एमाले ११, नेकपा २७, जसपा नेपाल ४ र राष्ट्रिय जनमोर्चा १ सांसद रहेका छन्। फागुन २१ मा एमालेका ८, राष्ट्रपतिबाट मनोनित नेकपाका ९ र जसपाका २ सांसदको कार्यकाल सकिँदैछ। कांग्रेसका कोही सदस्यको कार्यकाल सकिँदैन भने, सरकारको सिफारिसमा एक जना राष्ट्रपतिबाट मनोनित हुने छन्।
निर्वाचनमा कांग्रेस ९, एमाले ८ र जसपा १ गरी १८ सिटमा तालमेल गरी उम्मेदवार उत्रेका छन्। यसरी तालमेल गरेकाले निर्वाचनमा विजय निश्चित जस्तो देखिन्छ। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुनेछन् । जसमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ रहेको छ।
फागुन २१ पछि राष्ट्रिय सभामा कांग्रेस २५, एमाले ११, नेकपा १८, जसपा ३ र राष्ट्रिय जनमोर्चा १ सांसद हुनेछन्। त्यसैगरी, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन्। यो सन्तुलनसँगै, कांग्रेस–एमाले गठबन्धनले राष्ट्रिय सभामा स्पष्ट बहुमत अर्थात ३६ सांसद पाउने देखिन्छ।
कांग्रेस, एमाले र जसपा गठबन्धनको संयुक्त संख्या ३९ पुग्ने अनुमान छ । जुन दुईतिहाइ अर्थात ४० सांसद नजिक छ।












