फागुन २१ पछि राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनको बहुमत, दलीय हैसियतमा ठूलो फेरबदल

User Image Prime TV News एक महिना अगाडि
Image of फागुन २१ पछि राष्ट्रिय सभामा कांग्रेस–एमाले गठबन्धनको बहुमत, दलीय हैसियतमा ठूलो फेरबदल

काठमाडौ । आगामी फागुन २१ गतेपछि राष्ट्रिय सभामा प्रतिनिधित्व भएका दलहरूको हैसियतमा महत्वपूर्ण परिवर्तन हुने भएको छ। माघ ११ मा सम्पन्न राष्ट्रिय सभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा एमाले र जनता समाजवादी पार्टी नेपालबीचको तालमेलले नयाँ सन्तुलन तय गर्ने छ।

हाल राष्ट्रिय सभामा ५९ सदस्य छन् । जसमा कांग्रेस १६, एमाले ११, नेकपा २७, जसपा नेपाल ४ र राष्ट्रिय जनमोर्चा १ सांसद रहेका छन्। फागुन २१ मा एमालेका ८, राष्ट्रपतिबाट मनोनित नेकपाका ९ र जसपाका २ सांसदको कार्यकाल सकिँदैछ। कांग्रेसका कोही सदस्यको कार्यकाल सकिँदैन भने, सरकारको सिफारिसमा एक जना राष्ट्रपतिबाट मनोनित हुने छन्।

निर्वाचनमा कांग्रेस ९, एमाले ८ र जसपा १ गरी १८ सिटमा तालमेल गरी उम्मेदवार उत्रेका छन्। यसरी तालमेल गरेकाले निर्वाचनमा विजय निश्चित जस्तो देखिन्छ। निर्वाचनमा प्रदेश सभा सदस्य र स्थानीय तहका पदाधिकारी मतदाता हुनेछन् । जसमा प्रदेश सभा सदस्यको मतभार ५३ र स्थानीय तहका पदाधिकारीको मतभार १९ रहेको छ।

फागुन २१ पछि राष्ट्रिय सभामा कांग्रेस २५, एमाले ११, नेकपा १८, जसपा ३ र राष्ट्रिय जनमोर्चा १ सांसद हुनेछन्। त्यसैगरी, सरकारको सिफारिसमा राष्ट्रपतिबाट एक जना मनोनित हुनेछन्। यो सन्तुलनसँगै, कांग्रेस–एमाले गठबन्धनले राष्ट्रिय सभामा स्पष्ट बहुमत  अर्थात ३६ सांसद पाउने देखिन्छ।

कांग्रेस, एमाले र जसपा गठबन्धनको संयुक्त संख्या ३९ पुग्ने अनुमान छ । जुन दुईतिहाइ अर्थात ४० सांसद नजिक छ।