राष्ट्रपति पौडेलले जाँचबुझ आयोगलाई दिए जवाफ
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले भदौ २३ र २४ गतेका घटनासम्बन्धी पूर्वप्रधानमन्त्री, मन्त्री र अन्य विशिष्ट व्यक्तिहरूका लागि गठन गरिएको जाँचबुझ आयोगमा जवाफ पठाएका छन्।
आयोगले राष्ट्रपति पौडेलसँग भदौ २४ गते के भयो र त्यतिवेला तपाईं कहाँ हुनुहुन्थ्यो जस्ता प्रश्नसहित जानकारी मागेको थियो। आयोगका प्रवक्ता विज्ञानराज शर्माले राष्ट्रपति पौडेलले सो अनुरूपको जवाफ पेश गरेको जानकारी दिएका छन्।
भदौ २४ गते प्रदर्शनकारीले राष्ट्रपति कार्यालय शीतलनिवासमा आगजनी र तोडफोड गरेका थिए। सुरक्षाको लागि राष्ट्रपति पौडेललाई भैरवनाथ गणमा लगिएको थियो। सुरुमा सेनाको ब्यारेकमा सुरक्षित रहेका राष्ट्रपति पछि सरकार गठनको प्रक्रियामा सक्रिय भएका थिए।
भदौ २७ गते राष्ट्रपति कार्यालयमा सुशीला कार्कीलाई प्रधानमन्त्री नियुक्त गरिएको थियो र त्यही दिन प्रतिनिधि सभा विघटन गरिएको थियो। सरकार गठनको दोस्रो साता पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय जाँचबुझ आयोग गठन गरिएको थियो।
आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृह मन्त्री रमेश लेखकलाई स्थानहद तोकेर बयान लिएको थियो भने अन्य विशिष्ट व्यक्तिहरूलाई लिखित जवाफ मागेको थियो। पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल लगायतबाट जवाफ मागिएको थियो।
सभामुख घिमिरेले जवाफ बुझाइसकेका छन् भने राष्ट्रिय सभाका अध्यक्ष दाहालले जवाफ पठाउन बाँकी छ। यस्तै, काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले पनि जवाफ बुझाइसकेका छन्। तत्कालीन प्रधानमन्त्री ओलीले लिखित जवाफ दिएका थिए।
तत्कालीन गृहमन्त्री रमेश लेखक, गृह सचिव गोकर्णमणी दुवाडी, प्रधानसेनापति अशोकराज सिग्देल, प्रहरी प्रमुखहरू, सशस्त्र प्रहरी प्रमुखहरू र राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुखहरूले आयोगमा व्यक्तिगत बयान दिएका छन्। बयान अघि आयोगले उनीहरूलाई स्थानहद तोकेको थियो र बयान सकिएपछि त्यसलाई फुकुवा गरिएको छ।













