दुई दिनको उकालोपछि सेयर बजारमा गिरावट, नेप्से १३ अंकले ओरालो
Prime TV News एक महिना अगाडि 
काठमाडौ । निरन्तर दुई कारोबार दिन बढेको नेपाली सेयर बजार बुधबार फेरि दबाबमा परेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार १३.३५ अंकले घटेर २६३५.९४ विन्दुमा बन्द भएको हो।
बजार घटेसँगै अन्य सूचकहरू पनि राताम्मे बनेका छन्। यस दिन सेन्सेटिभ इण्डेक्स २.२२ अंकले घटेको छ भने फ्लोट इण्डेक्स ०.९० अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.७४ अंकले ओरालो लागेको छ। कारोबार रकममा पनि उल्लेख्य कमी आएको छ।
अघिल्लो दिन ७ अर्बभन्दा बढीको कारोबार भएको बजारमा बुधबार ३२३ कम्पनीका १ करोड ६ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १७ करोड रुपैयाँको कारोबार भएको छ। यस दिन कुल ७२ हजार ४७४ पटक कारोबार भएको नेप्सेले जनाएको छ।
बुधबारको कारोबारमा नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ता उत्साहित देखिए। सो कम्पनीको सेयरमूल्य ६.०८ प्रतिशतले बढ्दै सर्वाधिक वृद्धि भएको हो। यद्यपि, अन्य कम्पनीहरूको मूल्य वृद्धि दर भने सीमित रह्यो।
गिरावटतर्फ एसवाई प्यानल नेपाल अग्रस्थानमा रह्यो। उक्त कम्पनीको सेयरमूल्य ८.४५ प्रतिशतले घटेको छ। त्यसैगरी, जीवन विकास लघुवित्तको सेयरमूल्य साढे ६ प्रतिशतभन्दा बढी र विन नेपाल लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य साढे ५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा पनि एसवाई प्यानल नेपाल शीर्ष स्थानमा रहँदै २६ करोड ९४ लाख रुपैयाँ बराबरको कारोबार गरेको छ। त्यसपछि श्रीनगर एग्रीटेक इण्डस्ट्रिजको साढे २३ करोड रुपैयाँभन्दा बढी र मञ्जुश्री फाइनान्सको २० करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ।
१३ उपसमूहमध्ये बुधबार वित्त र व्यापार उपसमूह सामान्य रूपमा बढे पनि बाँकी ११ उपसमूहको परिसूचक घटेको छ। विशेषगरी होटल तथा पर्यटन उपसमूह १.४२ प्रतिशतले घट्दै सर्वाधिक प्रभावित भएको छ। उत्पादन तथा प्रशोधन उपसमूह पनि १ प्रतिशतभन्दा बढीले ओरालो लागेको छ।













