विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र विवाद तीव्र, गगन र विश्वप्रकाशलाई केन्द्रीय समितिको चेतावनी

User Image Prime TV News १ हप्ता अगाडि
Image of विशेष महाधिवेशनलाई लिएर कांग्रेसभित्र विवाद तीव्र, गगन र विश्वप्रकाशलाई  केन्द्रीय समितिको चेतावनी

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विषयलाई लिएर आन्तरिक विवाद चर्किँदै गएको छ। पार्टी केन्द्रीय कार्यालयले विशेष महाधिवेशन बोलाउने अधिकार केन्द्रीय कार्यसमितिबाहेक कसैलाई नभएको स्पष्ट पार्दै विधानविपरीत गतिविधि नगर्न कडा चेतावनी दिएको छ।

पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा पार्टी विधानअनुसार कुनै पनि तहको अधिवेशन वा विशेष महाधिवेशन व्यक्तिगत रूपमा कुनै पदाधिकारी वा सदस्यले आह्वान गर्न नसक्ने उल्लेख छ। यस्तो अधिकार केवल केन्द्रीय कार्यसमितिमा निहित रहेको जनाउँदै व्यक्तिगत रूपमा घोषणा गरिने कुनै पनि कार्यक्रम अवैधानिक हुने बताइएको छ।

पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासहित केही नेताहरू विशेष महाधिवेशनको पक्षमा खुलेर उत्रिएको अवस्थामा मुख्यसचिवको विज्ञप्ति आएको हो। विज्ञप्तिमा पार्टीका सबै तहका पदाधिकारी, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई विधानविपरीत गतिविधिमा संलग्न नहुन आग्रह गरिएको छ।

कांग्रेसभित्र विशेष महाधिवेशनको माग औपचारिक रूपमा अघि बढिसकेको छ। पार्टीका ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशन बोलाउनुपर्ने मागसहित कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई प्रस्ताव बुझाइसकेका छन्। पार्टी विधानअनुसार यस्तो माग आएको ९० दिनभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने व्यवस्था भए पनि उक्त समयसीमा यही पुस २८ गते सकिँदैछ।

तर पार्टी नेतृत्वले बहुमतको आधारमा विशेष महाधिवेशन गर्नु उपयुक्त नहुने निष्कर्ष निकाल्दै आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरिसकेको छ। यस निर्णयको विरोधमा विशेष महाधिवेशन पक्षधर समूहले भने पुस २७ गते महाधिवेशन गर्ने गरी तालिका सार्वजनिक गर्दै आन्तरिक तयारी अघि बढाइरहेका छन्।