ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट दिए राजीनामा

User Image Prime TV News १ हप्ता अगाडि
Image of ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट दिए राजीनामा

काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। उनले बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा पत्र बुझाएका हुन्।

घिसिङ गत भदौ ३० गते ऊर्जामन्त्रीमा नियुक्त भएका थिए। उनलाई ऊर्जा मन्त्रालयसँगै भौतिक योजना तथा यातायात र सहरी विकास मन्त्रालयको समेत जिम्मेवारी दिइएको थियो। तर, राजनीतिमा सक्रिय भएपछि प्रधानमन्त्री कार्कीले उनलाई पदबाट मार्गप्रशस्त गर्न स्पष्ट संकेत दिएकी थिइन्।

राजीनामापछि कुलमान घिसिङले पत्रकार सम्मेलनमार्फत आफ्नो निर्णय सार्वजनिक गरेका छन्। सरकारमा बसेर दलीय राजनीतिमा लाग्नु गलत हुने भन्दै उनले जिम्मेवारीबाट अलग हुने निर्णय लिएको बताएका छन्।

यसअघि गत पुस १४ गते राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङबीच ७ बुँदे सहमति भएको थियो। उक्त सहमतिअनुसार आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा दुवै पक्ष सँगै जाने तय भएको थियो।

सहमतिकै आधारमा घिसिङ रास्वपाको दोस्रो वरीयताका नेतासहित उपसभापति बन्ने समझदारी भएको बताइएको छ। यही राजनीतिक सक्रियताका कारण सरकारमा उनको उपस्थिति असहज बन्दै गएको थियो।

घिसिङको राजीनामाले सरकारभित्र ‘गैरदलीय’ मन्त्रीको बहसलाई अन्त्य गरेको छ। अब उनको ध्यान पूर्ण रूपमा चुनावी राजनीति र पार्टी संगठनमै केन्द्रित हुने देखिएको छ।