प्रधानमन्त्री कार्कीले कुलमानलाई भनिन् कामको मूल्याङ्कन जनताले गर्ने छन्
Prime TV News १ हप्ता अगाडि 
काठमाडौ । ऊर्जामन्त्री कुलमान घिसिङले पदबाट राजीनामा दिएका छन्। बुधबार राति प्रधानमन्त्री निवास बालुवाटार पुगेर उनले प्रधानमन्त्री सुशीला कार्कीसमक्ष औपचारिक रूपमा राजीनामा पत्र बुझाएका हुन्।
राजीनामा बुझ्दै प्रधानमन्त्री कार्कीले छोटो अवधिमा घिसिङले तीनवटा महत्त्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्दै देखाएको कार्यक्षमताको प्रशंसा गरिन्। उनले प्रतिकूल अवस्थामा सरकारमा सहभागी भएर घिसिङले देशका लागि उल्लेखनीय योगदान दिएको बताइन्।
प्रधानमन्त्री कार्कीले घिसिङले रातदिन नभनी काम गरेको, देशका विभिन्न भागमा पुगेर सेवा दिएको र विपद्का बेला अग्रपंक्तिमा खटिएको उल्लेख गरिन्। विकास निर्माण क्षेत्रमा देखिएका बेथितिविरुद्ध उनले कठोर निर्णय लिएको स्मरण गराउँदै ती कामको मूल्याङ्कन जनताले गर्ने बताइन्।
सो अवसरमा प्रधानमन्त्रीले सम्मानस्वरूप घिसिङलाई खादा पहिराइदिँदै उनले कुनै स्वार्थ नराखी निःस्वार्थ सेवा गरेको स्पष्ट पारिन्। जेन–जी युवाको आग्रहमा सरकारमा ल्याइएको उल्लेख गर्दै चुनावपछि राजनीतिमा जान पाउने व्यवस्था गरेरै उनलाई जिम्मेवारी दिइएको बताइन्। आगामी दिनमा देशका लागि अझ ठूलो भूमिका निर्वाह गर्ने विश्वाससमेत उनले व्यक्त गरिन्।
मन्त्री घिसिङले अन्तरिम अवधिमा सरकारमा रहेर काम गर्ने अवसर दिएकोमा प्रधानमन्त्रीप्रति आभार व्यक्त गरे। उनले देश र जनताको हितलाई केन्द्रमा राखेर काम गरेको बताए।
घिसिङको राजीनामाले सरकारमा उनको कार्यकाल टुंगिएको छ भने अब उनी सक्रिय राजनीतिक यात्रातर्फ अघि बढ्ने संकेत देखिएको छ।












