१ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

User Image Prime TV News ६ दिन अगाडि
Image of १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी भर्नाका लागि दरखास्त आह्वान

काठमाडौ । आगामी फागुन २१ गते तोकिएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै नेपाल प्रहरीले निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु गरेको छ।

प्रहरी प्रधान कार्यालयले निर्वाचन सुरक्षाका लागि १ लाख ३३ हजार ९८० जना निर्वाचन प्रहरी आवश्यक रहेको जनाउँदै बिहीबार सूचना प्रकाशित गरेको हो।

सूचनाअनुसार निर्वाचन प्रहरीमा भर्ना हुन इच्छुकले पुस २५ गतेदेखि माघ १ गतेसम्म दरखास्त दिन सक्नेछन्। सार्वजनिक बिदाका दिनसमेत दरखास्त लिइने प्रहरी प्रधान कार्यालय मानव स्रोत विकास विभागले जनाएको छ।

काठमाडौं उपत्यकाका तीन जिल्ला प्रहरी परिसर र देशभरका जिल्ला प्रहरी कार्यालयबाट दरखास्त फारम प्राप्त गरी बुझाउन सकिने व्यवस्था गरिएको छ।

निर्वाचन प्रहरीमा भर्ना हुन १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका, साधारण लेखपढ गर्न जान्ने नेपाली नागरिक योग्य हुनेछन्। माघ ५ देखि ९ गतेसम्म छनोट प्रक्रिया सञ्चालन गरिनेछ भने माघ १२ गते अन्तिम नतिजा प्रकाशन गरिनेछ।

छनोट भएका उम्मेदवारले माघ १५ देखि २४ गतेसम्म तालिम लिनुपर्नेछ। निर्वाचन प्रहरीको कार्य अवधि ४० दिनको हुनेछ। सो अवधिका लागि ३४ हजार ७७६ रुपैयाँ तलब सुविधा दिइनेछ। यसबाहेक रासन तथा आवतजावत खर्चबापत ८४६ रुपैयाँ थप उपलब्ध गराइने प्रहरीले जनाएको छ।

त्यस्तै, निर्वाचन प्रहरीलाई चार दिनका लागि प्रतिदिन ३ सय रुपैयाँका दरले खाजा खर्च दिइनेछ भने पोसाकका लागि छुट्टै रकम उपलब्ध गराइनेछ।