विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुदैन: महामन्त्री शर्मा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनका कारण पार्टी विभाजन हुने आशंका पूर्ण रूपमा गलत भएको दाबी गरेका छन्।
सामाजिक सञ्जालमार्फत कडा रूपमा धारणा राख्दै शर्माले विशेष महाधिवेशन पुस २७ गते निश्चित रूपमा हुने र त्यसबाट पार्टी नटुट्ने स्पष्ट पारेका हुन्।
शर्माले पार्टी विभाजनको हल्लालाई निराधार भन्दै यदि त्यस्तो अवस्था आयो भने आफू सबैभन्दा पहिले महाधिवेशन हल छाड्ने चेतावनीसमेत दिएका छन्।
उनले विशेष महाधिवेशनलाई कांग्रेस कमजोर बनाउने होइन, ऐतिहासिक रूपमा सही दिशामा लैजाने अवसरका रूपमा व्याख्या गरेका छन्।
उनका अनुसार नेपाली कांग्रेसको पहिलो विशेष महाधिवेशनले पार्टीलाई त्यस समयको राष्ट्रिय आवश्यकताअनुसार अघि बढ्न मार्गदर्शन गरेको थियो।
अहिले हुन लागेको दोस्रो विशेष महाधिवेशन फरक राष्ट्रिय परिस्थिति र जटिल आन्तरिक अवस्थाबीच हुँदैछ, जसले पार्टीभित्र एकता सुदृढ गर्दै नयाँ आत्मविश्वास पैदा गर्नुपर्ने जिम्मेवारी बोकेको छ।
शर्माले पार्टी विधानअनुसारको प्रक्रिया कार्यान्वयन गर्नु विभाजनको योजना नभई पार्टीलाई विधिसम्मत र व्यवस्थित बनाउने प्रयास भएको स्पष्ट पारेका छन्। आजको र भोलिको नेपालका लागि स्पष्ट दृष्टि, योजना र सङ्कल्पसहित अघि बढ्न कांग्रेस बाध्य रहेको उनको भनाइ छ।
उनले सबै प्रतिनिधिलाई विशेष महाधिवेशनमा उपस्थित भई जिम्मेवारीपूर्वक भूमिका खेल्न आग्रह गरेका छन्।












