भेनेजुएलामा अमेरिकी आक्रमण: १०० जनाको मृत्यु भएको दाबी
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । भेनेजुएलामा राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गर्ने उद्देश्यले गरिएको अमेरिकी आक्रमणमा कम्तीमा १०० जनाको मृत्यु भएको भेनेजुएलाका गृहमन्त्रीले दाबी गरेका छन्।
भेनेजुएलाका गृहमन्त्री डियोसदादो काबेलोले बुधबार राति राष्ट्रलाई सम्बोधन गर्दै हालसम्म १०० जनाको ज्यान गएको र लगभग सोही संख्यामा घाइते भएको जानकारी दिएका हुन्। उनका अनुसार मृतकमध्ये धेरैजसो संघर्षसँग प्रत्यक्ष सम्बन्ध नराख्ने सर्वसाधारण नागरिक रहेका छन्।
“घरभित्र रहेका महिला तथा सर्वसाधारण नागरिकहरू शक्तिशाली बमको प्रभावमा परेर मारिएका छन्,” काबेलोले भने। उनले आक्रमणका कारण आवासीय क्षेत्रमा ठूलो क्षति पुगेको समेत बताए। यसैबीच, क्युबा सरकारले आइतबार जारी गरेको वक्तव्यमा उक्त ‘अपरेसन’का क्रममा ३२ क्युबाली नागरिकको मृत्यु भएको जनाएको छ।
ती व्यक्तिहरू क्युबा सशस्त्र बल तथा गृह मन्त्रालयको तर्फबाट भेनेजुएलामा कार्यरत रहेको क्युबा सरकारको भनाइ छ। तर ती ३२ जना मृतक काबेलोले उल्लेख गरेको १०० जनाको संख्यामा समावेश छन् वा छैनन् भन्नेबारे स्पष्ट जानकारी दिइएको छैन।
उता अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आक्रमणका क्रममा कुनै पनि अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरेका छन्। तर, हेलिकोप्टरमाथि प्रहार हुँदा केही अमेरिकी सैनिक घाइते भएको उनले स्वीकार गरेका छन्। घटनापछि भेनेजुएलामा तनाव थप चर्किएको छ भने अन्तर्राष्ट्रिय समुदायको ध्यान पनि यस घटनातर्फ केन्द्रित भएको छ।












