लप्सेफेदी जंगलमा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

User Image Prime TV News ६ दिन अगाडि
Image of लप्सेफेदी जंगलमा बस दुर्घटना: मृतकको संख्या पाँच पुग्यो

काठमाडौ । काठमाडौँको शङ्खरापुर नगरपालिका–३ स्थित लप्सेफेदी जंगलमा भएको बस दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ।

दुर्घटनामा गम्भीर घाइते भएका गोकर्णेश्वर नगरपालिका–५ जोरपाटी निवासी ६० वर्षीय अर्जुन लामिछानेको बिहीबार बिहान उपचारका क्रममा मृत्यु भएको हो। उनको अत्तरखेलस्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको थियो।

बुधबार साँझ बा.४ ख ८७८८ नम्बरको महानगर यातायातको बस स्थानीय ढोल्बु सामुदायिक बन क्षेत्रमा दुर्घटनामा परेको थियो। दुर्घटनामा यसअघि चार जनाको मृत्यु भइसकेको थियो। जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार मृत्यु हुनेहरूमा बाँकेको कोहलपुर नगरपालिका–५ घर भई हाल बुढानीलकण्ठ बस्ने ४९ वर्षीया कामना शर्मा, ताप्लेजुङ घर भई बुढानीलकण्ठ बस्ने ५१ वर्षीया इन्दिरा लिम्बु, सिराहा घर भई पेप्सीकोला बस्ने ५५ वर्षीया शान्ती गुप्ता र पाँचथर घर भई गोठाटार बस्ने ६५ वर्षीय देबेन्द्र लिम्बु रहेका छन्।

मृतक सबैको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महराजगञ्ज पठाइएको छ। दुर्घटनाको कारण र अन्य विवरणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।