अमेरिकाले ६६ अन्तर्राष्ट्रिय संस्था र एजेन्सीमा सहयोग बन्द गर्ने निर्णय

User Image Prime TV News ६ दिन अगाडि
Image of अमेरिकाले ६६ अन्तर्राष्ट्रिय संस्था र एजेन्सीमा सहयोग बन्द गर्ने निर्णय

काठमाडौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राष्ट्रसंघका ६६ वटा अन्तर्राष्ट्रिय संस्था, एजेन्सी र आयोगहरूमा अमेरिका बाहिरिने आदेश हस्ताक्षर गरेका छन्। यस आदेशअनुसार अब यी निकायहरूलाई अमेरिकाले दिँदै आएको सहयोग र समर्थन बन्द हुनेछ।

ह्वाइटहाउसका अनुसार अमेरिकी सरकारले संयुक्त राष्ट्रसंघसँग सम्बन्धित विभिन्न एजेन्सी, आयोग, जलवायु परिवर्तन, श्रम, आप्रवासन र सल्लाहकार समितिहरूमा लगानी र समर्थनको पुनरावलोकन गरेपछि यस्तो कदम उठाइएको हो।

सहयोग कटौती हुने संस्थाहरूमा संयुक्त राष्ट्रसँग सम्बन्धित निकाय मात्र नभई एटलान्टिक सहकार्यका लागि साझेदारी, प्रजातन्त्र र मतदान सहयोगका लागि अन्तर्राष्ट्रिय संस्था, वैश्विक आतंकवाद विरोधी मञ्चजस्ता संस्थाहरू पनि समावेश छन्।

यसअघि नै अमेरिका विश्व स्वास्थ्य संगठन, प्यालेस्टाइनी शरणार्थीका लागि राष्ट्रसंघीय एजेन्सी, राष्ट्रसंघ मानव अधिकार नियोग र सांस्कृतिक एजेन्सीलाई दिइने सहयोग रोकिसकेको छ। ट्रम्पले आफ्नो दोस्रो कार्यकालमा आफ्ना एजेन्डासँग मिल्ने संस्थाहरूमा मात्र सहयोग गर्ने नीति अपनाएका छन् ।