बंगलादेशमा राजनीतिक हिंसा बढ्दै , बंगलादेश नेसनलिष्ट पार्टीका नेताको हत्या
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । बंगलादेशमा चुनावपूर्व राजनीतिक तनाव बढ्दै गएको छ। ढाकामा बंगलादेश नेसनलिस्ट पार्टीको स्वयंसेवी शाखा स्वेच्छासेवक दलका नेता अजिजुर रहमान मुसब्बिरलाई मंगलबार राति गोली हानी हत्या गरिएको छ।
स्थानीय प्रहरीका अनुसार घटना कारवान बजारस्थित सुपर स्टार होटल नजिक राति करिब ८:३० बजे भएको थियो। मुसब्बिरलाई घटनास्थलबाट पन्थपाठस्थित बीआरबी अस्पताल लैजाँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ। आक्रमणमा तेजगाउँ थाना वन श्रमिक युनियनका महासचिव सुफियान मसुद पनि घाइते भएका छन्।
बीएनपीका सदस्यहरूले बताए अनुसार मुसब्बिर साँझको कार्यक्रममा सहभागी भइसकेका थिए र कार्यक्रमपछि नजिकैको गल्लीमा जाँदै गर्दा अज्ञात दुई आक्रमणकारीले गोली चलाएका थिए। घटना पछि आक्रमणकारीहरू पैदलै भागेका थिए।
घटनापछि स्थानीय बंगलादेश नेसनलिष्ट पार्टी कार्यकर्ताहरूले सोनारगाँउ चोक नजिक विरोध प्रदर्शन गरेका छन्। मुसब्बिर पूर्व अवामी लिग शासनकालमा बारम्बार राजनीतिक मुद्दामा पक्राउ परेका थिए र जेल बसेका थिए।
फेब्रुअरी १२ मा हुने राष्ट्रिय चुनावअघि बढिरहेको हिंसाले अन्तरिम सरकारमाथि प्रश्न उठाएको छ। यसअघि पनि युवा नेता उस्मान हादीको हत्या पछि परिवारजनले चुनाव स्थगित गर्न अन्तरिम सरकारमाथि आरोप लगाएका थिए ।












