सावित्रा भण्डारी ‘साम्बा’को खुट्टामा चोट, सिजनभर मैदान बाहिर रहने

User Image Prime TV News ६ दिन अगाडि
Image of सावित्रा भण्डारी ‘साम्बा’को खुट्टामा चोट, सिजनभर मैदान बाहिर रहने

काठमाडौ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’ अस्ट्रेलियामा खेलिरहँदा घाइते भएकी छन्। उनी ब्रिस्बेन रोअरविरुद्धको महिला फुटबल लिगको राउन्ड ११ खेलको दोस्रो हाफमा चोट लाग्दा मैदान बाहिरिनु परेको हो।

घटनाक्रम अनुसार, साम्बा हावामा उडिरहेको बललाई हेड हान्ने क्रममा ब्रिस्बेन रोअरकी गोलकिपरसँग ठोक्किएकी थिइन्। यस क्रममा उनको दाहिने घुँडामा गंभीर चोट लाग्यो। वेलिङ्टन फिनिक्स क्लबले बुधबार चोटबारे औपचारिक जानकारी दिँदै बताए अनुसार, एमआरआइ स्क्यानले साम्बाको एन्टेरियर क्रुसिएट लिगामेन्ट ग्राफ्ट फुटेको पुष्टि गरेको छ।

उनलाई ९–१२ महिना मैदान बाहिर बस्नुपर्ने भएको छ । जसले गर्दा उनले यो सिजनका सबै खेल गुमाउनेछिन्। वेलिङ्टन फिनिक्सकी मुख्य प्रशिक्षक बेभ प्रिस्टम्यानले साम्बाको चोटप्रति दुःख व्यक्त गर्दै भनिन्, “टोली साम्बाको चोटले पूर्ण रूपमा निराश छ। उनी हाम्रो सबैभन्दा लोकप्रिय खेलाडी हुन् र टोलीले उनलाई धेरै माया गर्छ।” उनले साम्बा चाँडै स्वस्थ भएर फर्किने विश्वास व्यक्त गरेकी छन्।

सावित्रा भण्डारी हाल सिजन २०२५–२६ का लागि वेलिङ्टन फिनिक्ससँग आबद्ध थिइन्। क्लबले पनि आफ्नो स्ट्राइकरलाई छिटो स्वास्थ्य लाभको शुभकामना दिएको छ।