विशेष महाधिवेशन पक्षलाई काउन्टर दिदै कांग्रेस संस्थापन पक्षले राख्यो युवाहरू र जिल्ला सभापति भेला

User Image Prime TV News ६ दिन अगाडि
Image of विशेष महाधिवेशन पक्षलाई काउन्टर दिदै कांग्रेस संस्थापन पक्षले राख्यो युवाहरू र जिल्ला सभापति भेला

काठमाडौ । नेपाली कांग्रेसभित्र आगामी विशेष महाधिवेशनलाई लक्षित गर्दै संस्थापन समूहले समानान्तर कार्यक्रम सञ्चालनको तयारी गरेको छ। पुस २७ र २८ गते तय गरिएको विशेष महाधिवेशनलाई काउन्टर गर्ने उद्देश्यले संस्थापन पक्षले पार्टी कार्यालयमा युवाहरू र जिल्ला सभापतिहरूको भेला राख्ने निर्णय गरेको हो।

बिहीबार बिहान ११ बजे सभापति शेरबहादुर देउवाको निवासमा भएको बैठकमा यो योजना अन्तिम रुप दिइएको थियो। बैठकमा सभापति देउवा, नेता बालकृष्ण खाण, एनपी साउद, जितजंग बस्नेत, नेविसंघ अध्यक्ष दुजाङ शेर्पा, महिला संघ अध्यक्ष उषा राउत, तरुण दल अध्यक्ष विद्वान गुरुङलगायतको सहभागिता रहेको थियो।

बैठकमा निर्णय अनुसार, पुस २७ मा तरुण दलले युवा भेला आयोजना गर्नेछ । जसको संयोजन तरुण दल अध्यक्ष विद्वान गुरुङले गर्नेछन्। अर्को दिन पुस २८ मा जिल्ला सभापतिहरूको भेला हुने तयारी भएको छ। यसको समन्वय केन्द्रीय सदस्य जितजंग बस्नेत र भक्तपुर सभापति दुर्लभ थापाले गर्नेछन्। संस्थापन समूहका एक नेताले बाह्रखरीसँग भने, “विभिन्न कार्यक्रम गर्ने गरी छलफल र तयारी भइरहेका छन्।”

यसअघि महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ मा कांग्रेसभित्र विशेष महाधिवेशनको तयारी भएको थियो। संस्थापन समूहले यसलाई ध्यानमा राख्दै समानान्तर कार्यक्रमको रणनीति बनाएको बताइएको छ ।