कुलमान घिसिङसंगको सहमतिलाई औपचारिकता दिने काम सुरु हुन्छः रबि लामिछने
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी र उज्यालो नेपाल पार्टी बीच भएको पार्टी एकताको सहमति अब औपचारिक रूपमा कार्यान्वयनतर्फ अघि बढ्ने भएको छ। उनेपाका नेता कुलमान घिसिङले मन्त्री पदबाट राजीनामा दिएपछि सहमति कार्यान्वयनको प्रक्रिया सुरु हुने रास्वपाका सभापति रवि लामिछानेले बताएका छन्।
बिहीबार सञ्चारकर्मीसँग कुरा गर्दै सभापति लामिछानेले सहमति भइसके पनि त्यसलाई पार्टीका औपचारिक संरचनामार्फत अघि बढाउनुपर्ने भन्दै अब प्रक्रिया थालिने स्पष्ट पारे। “सहमति गरेका छौँ, तर त्यसलाई पार्टीले प्रोसेस गर्नुपर्छ। अब उहाँ राजीनामा दिएर आउनुभएको छ, सहमतिलाई औपचारिकता दिने काम सुरु हुन्छ,” उनले भने।
रास्वपा र उनेपाबीच पार्टी एकताको सहमति भइसकेको छ। सहमतिअनुसार दुवै पार्टीले निर्वाचन आयोगमा समानुपातिकतर्फको एकीकृत सूचीसमेत बुझाइसकेका छन्। तर सहमति भए पनि घिसिङ हालसम्म रास्वपाको बैठकमा सहभागी भएका थिएनन् भने उनले शपथ पनि लिएका थिएनन्। साथै, उनेपाले केन्द्रीय कमिटीका नामहरू पनि औपचारिक रूपमा नपठाएको अवस्था थियो।
बुधबार मन्त्री पदबाट राजीनामा दिने क्रममा कुलमान घिसिङले रास्वपासँग भएको सहमति औपचारिक रूपमा कार्यान्वयनमा नआएको बताएका थिए। ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले सहमतिमा आफ्नो नाम उल्लेख भए पनि पार्टी एकताको प्रक्रिया अझै औपचारिक रूप लिन नसकेको स्पष्ट पारेका थिए।
घिसिङको राजीनामापछि अब रास्वपा र उनेपा एकताको सहमति संस्थागत प्रक्रिया पूरा गर्दै अघि बढ्ने अपेक्षा गरिएको छ। पार्टी नेतृत्वले आगामी दिनमा आवश्यक निर्णय र संरचनागत समायोजन गर्ने संकेत गरेको छ।













