विशेष महाधिवेशनकै दिन युवा भेला राखेर मुठभेडको अवस्था सिर्जना गर्न खोजिएको आरोप

User Image Prime TV News ६ दिन अगाडि
Image of विशेष महाधिवेशनकै दिन युवा भेला राखेर मुठभेडको अवस्था सिर्जना गर्न खोजिएको आरोप

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षले विशेष महाधिवेशन आयोजना भएकै दिन पार्टी केन्द्रीय कार्यालयमा युवा भेला राख्ने निर्णयप्रति आपत्ति जनाएको छ । उक्त पक्षले संस्थापन पक्षले जानाजानी कांग्रेस कार्यकर्ताबीच तनाव र मुठभेडको अवस्था सिर्जना गर्न खोजेको आरोप लगाएको छ ।

बिहीबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा विशेष महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशन तय भएकै मितिमा केन्द्रीय समितिको नाममा तथा ‘युवा भेला’ को नाम दिएर पार्टी कार्यालयमै अर्को कार्यक्रम राखिनु दुर्भाग्यपूर्ण भएको बताए । यसले पार्टीभित्र अनावश्यक द्वन्द्व निम्त्याउन सक्ने उनीहरूको भनाइ छ ।

पत्रकार सम्मेलनमा बोल्दै नेता अजयबाबु सिवाकोटीले विशेष महाधिवेशन पक्षले पार्टी कार्यालय कब्जा गर्ने हल्लाका आधारमा युवा भेला बोलाइएको भए त्यो बालहटपूर्ण निर्णय हुने बताए । “हामी पार्टी कार्यालय कब्जा गर्ने जस्तो गैरजिम्मेवार काम गर्दैनौँ,” उनले भने, “विशेष महाधिवेशनको औचित्य सकियो भन्ने आदेशसमेत खारेज भइसकेको छ।”

उनले विशेष महाधिवेशनमा पार्टी नेतृत्वको समेत साथ रहने विश्वास व्यक्त गर्दै सो दिन केन्द्रीय कार्यालयमा कुनै पनि भेला आयोजना नगर्न आग्रह गरे । यसैबीच, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरिसकेको सन्दर्भमा पुष २७ र २८ गते हुने विशेष महाधिवेशनको तयारी तीव्र रूपमा अघि बढिरहेको सिवाकोटीले जानकारी दिए ।

विशेष महाधिवेशन काठमाडौंको भृकुटीमण्डपमा आयोजना गरिने तयारी गरिएको छ । भृकुटीमण्डप परिसरमा पार्टी झण्डा व्यवस्थापनदेखि महाधिवेशन स्थल निर्माणसम्बन्धी कामहरू तीव्र गतिमा भइरहेको विशेष महाधिवेशन पक्षले जनाएको छ ।