विशेष महाधिवेशनको तयारी तीव्र, कांग्रेस आयोजक समूहले १५ सय प्रतिनिधिका लागि होटल व्यवस्थापन

User Image Prime TV News ६ दिन अगाडि
Image of विशेष महाधिवेशनको तयारी तीव्र, कांग्रेस आयोजक समूहले १५ सय प्रतिनिधिका लागि होटल व्यवस्थापन

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूको आवास व्यवस्थापन अन्तिम चरणमा पुर्‍याएको छ । काठमाडौंका विभिन्न क्षेत्रका होटलहरूमा करिब १५ सय कोठा बुक गरिएको आयोजक समूहले जनाएको छ ।

विशेष महाधिवेशन प्रतिनिधिका लागि आवास तथा खानपान व्यवस्थापन समितिका अनुसार ठमेल, नक्साल, सुन्धारा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा प्रतिनिधिहरू बस्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधिहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको संयोजन अनुसार होटलमा राखिनेछ ।

समितिले महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका प्रतिनिधिहरूलाई प्राथमिकताका साथ सुरक्षित र सहज आवास व्यवस्था गरिएको जानकारी दिएको छ । साथै, प्रत्येक निर्वाचन क्षेत्रका लागि ‘पोलिटिकल फोकल पर्सन’ तोक्ने तयारी भइरहेको बताउँदै त्यसबाट प्रतिनिधिहरूको समन्वय र व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

काठमाडौंमा घर भएका वा आफन्तकहाँ बस्न सक्ने प्रतिनिधिहरूलाई होटल प्रयोग नगरी त्यहीँ बस्न अनुरोध गरिने पनि आयोजक समूहले जनाएको छ, जसले व्यवस्थापनलाई अझ सहज बनाउनेछ । यसैबीच, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिने जानकारी दिँदै प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरेका छन् ।