विशेष महाधिवेशनको तयारी तीव्र, कांग्रेस आयोजक समूहले १५ सय प्रतिनिधिका लागि होटल व्यवस्थापन

User Image Prime TV News एक महिना अगाडि
Image of विशेष महाधिवेशनको तयारी तीव्र, कांग्रेस आयोजक समूहले १५ सय प्रतिनिधिका लागि होटल व्यवस्थापन

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशनलाई लक्षित गर्दै आयोजक समूहले महाधिवेशन प्रतिनिधिहरूको आवास व्यवस्थापन अन्तिम चरणमा पुर्‍याएको छ । काठमाडौंका विभिन्न क्षेत्रका होटलहरूमा करिब १५ सय कोठा बुक गरिएको आयोजक समूहले जनाएको छ ।

विशेष महाधिवेशन प्रतिनिधिका लागि आवास तथा खानपान व्यवस्थापन समितिका अनुसार ठमेल, नक्साल, सुन्धारा र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आसपासका होटलहरूमा प्रतिनिधिहरू बस्ने व्यवस्था मिलाइएको हो । प्रतिनिधिहरूलाई आ–आफ्नो निर्वाचन क्षेत्रको संयोजन अनुसार होटलमा राखिनेछ ।

समितिले महिला, ज्येष्ठ नागरिक तथा अपांगता भएका प्रतिनिधिहरूलाई प्राथमिकताका साथ सुरक्षित र सहज आवास व्यवस्था गरिएको जानकारी दिएको छ । साथै, प्रत्येक निर्वाचन क्षेत्रका लागि ‘पोलिटिकल फोकल पर्सन’ तोक्ने तयारी भइरहेको बताउँदै त्यसबाट प्रतिनिधिहरूको समन्वय र व्यवस्थापन प्रभावकारी हुने अपेक्षा गरिएको छ ।

काठमाडौंमा घर भएका वा आफन्तकहाँ बस्न सक्ने प्रतिनिधिहरूलाई होटल प्रयोग नगरी त्यहीँ बस्न अनुरोध गरिने पनि आयोजक समूहले जनाएको छ, जसले व्यवस्थापनलाई अझ सहज बनाउनेछ । यसैबीच, नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले पुस २७ र २८ गते काठमाडौंमा विशेष महाधिवेशन आयोजना गरिने जानकारी दिँदै प्रतिनिधिहरूलाई सहभागिताका लागि आग्रह गरेका छन् ।