राष्ट्रिय एकता र समृद्धिका लागि कम्युनिस्ट शक्तिको एकीकरण आवश्यक : प्रचण्ड

User Image Prime TV News एक महिना अगाडि
Image of राष्ट्रिय एकता र समृद्धिका लागि कम्युनिस्ट शक्तिको एकीकरण आवश्यक : प्रचण्ड

काठमाडौ । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मुलुकको राष्ट्रिय एकता, स्वाधीनता र आर्थिक समृद्धि सुनिश्चित गर्न कम्युनिष्ट शक्तिहरूलाई एउटै मोर्चामा ल्याउनुपर्ने आवश्यकता औंल्याएका छन् ।

बिहीबार पुस २४ गते पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पार्टी प्रवेश कार्यक्रममा सम्बोधन गर्दै उनले देशको परिवर्तन र विकासका लागि व्यापक राष्ट्रिय एकता अपरिहार्य रहेको बताए । “राष्ट्रलाई बलियो बनाउने ऐतिहासिक दायित्व हाम्रो काँधमा छ,” उनले भने, “त्यो जिम्मेवारी पूरा गर्न एक्लो प्रयास पर्याप्त हुँदैन, साझा लक्ष्यसहितको बृहत् एकता आवश्यक छ।”

प्रचण्डले यहि सोचका आधारमा विभिन्न १७ वटा साना ठूला कम्युनिष्ट घटकलाई समेटेर नेपाली कम्युनिष्ट पार्टी गठन गरिएको स्पष्ट पारे । कम्युनिष्ट आन्दोलनलाई नयाँ दिशा दिन र जनताको अपेक्षा पूरा गर्न पार्टी एकीकरणको प्रक्रियामा अघि बढिरहेको उनको भनाइ थियो ।

उनका अनुसार पछिल्लो समय देशका सबै प्रदेश, जिल्ला र स्थानीय तहमा युवापुस्ताको सहभागिता उल्लेखनीय रूपमा बढ्दै गएको छ ।

विशेषगरी नयाँ पुस्ताका युवाहरूले आफ्ना विचार र आकांक्षालाई सही ढंगले प्रतिनिधित्व गर्ने राजनीतिक शक्ति नेकपा भएको बुझ्न थालेको उनले दाबी गरे । “युवाहरू पार्टीप्रति आकर्षित हुँदै गएको अवस्था देखिन्छ,” प्रचण्डले भने, “जेनजी पुस्ताले आफ्नो आवाज र भावना नेकपामार्फत अभिव्यक्त हुन सक्छ भन्ने विश्वास गर्न थालेका छन्।”