कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको कडा निर्णय: विशेष महाधिवेशन तुरुन्त रोक्न निर्देशन

User Image Prime TV News ६ दिन अगाडि
Image of कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको कडा निर्णय: विशेष महाधिवेशन तुरुन्त रोक्न निर्देशन

काठमाडौ । नेपाली कांग्रेसले विधानविपरीत आह्वान गरिएको विशेष महाधिवेशन कुनै हालतमा वैधानिक नहुने ठहर गर्दै त्यस प्रकारका सबै गतिविधि तत्काल रोक्न स्पष्ट र कडा निर्देशन दिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले विशेष महाधिवेशनको बहानामा भइरहेको गतिविधिलाई अवैधानिक मात्र नभई पार्टी एकतामाथि गम्भीर खतरा ठहर गरेको हो।

बैठकले २०८२ मंसिर १५ गते केन्द्रीय कार्यसमितिबाट सर्वसम्मत रूपमा पारित भइसकेको १५औँ महाधिवेशनको कार्यतालिका कार्यान्वयनको चरणमा पुगेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य नरहेको स्पष्ट पारेको छ।

यसअघि २०८२ पौष १८ गते कार्यतालिका संशोधन गर्दै १५औँ महाधिवेशन २०८३ वैशाख २८ देखि ३१ गतेसम्म गर्ने निर्णय भइसकेको स्मरण गराउँदै समितिले नियमित प्रक्रिया अघि बढिसकेको अवस्थामा वैकल्पिक संरचना खडा गर्नु विधानको ठाडो उल्लङ्घन भएको ठहर गरेको छ।

बैठकले वर्तमान संवेदनशील राजनीतिक परिस्थितिमा विशेष महाधिवेशनले पार्टीलाई विभाजनको दिशामा धकेल्ने र आगामी २०८२ फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसलाई गम्भीर क्षति पुर्‍याउने निष्कर्ष निकालेको छ।

समानुपातिक बन्दसूची निर्वाचन आयोगमा पेस भइसकेको तथा राष्ट्रिय सभा सदस्य निर्वाचनजस्ता महत्त्वपूर्ण प्रक्रियामा पार्टी संलग्न रहेको अवस्थामा आन्तरिक विवाद सिर्जना गर्नु गैरजिम्मेवार र आत्मघाती कदम भएको ठहर बैठकको छ।

समितिले निर्वाचनपछि हुने नियमित महाधिवेशनमा पार्टीभित्रका सबै सुधारका एजेन्डा खुला रूपमा छलफल गर्न सकिने स्पष्ट गर्दै अहिलेको प्राथमिकता पार्टी एकता, अनुशासन र निर्वाचन तयारी हुनुपर्नेमा जोड दिएको छ।

साथै, पार्टी विधानअनुसार अधिवेशन वा विशेष महाधिवेशन बोलाउने अधिकार व्यक्तिगत पदाधिकारी वा सदस्यलाई नभई केन्द्रीय समितिलाई मात्र हुने स्पष्ट पार्दै, व्यक्तिगत रूपमा आयोजना गरिने यस्ता भेलामा संलग्न नहुन पार्टीका सबै तहका नेता–कार्यकर्ता, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था र विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई कडा अपिल गरिएको छ।

बैठकमा महामन्त्री गगनकुमार थापा र सहमहामन्त्री फरमूल्लाह मन्सुरले आफ्ना धारणा राखेका थिए।