कांग्रेसभित्र टकराव तीव्र: गगन थापाले विशेष महाधिवेशन फिर्ता लिन अस्वीकार
Prime TV News ६ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर मतभेद खुला टकरावमा परिणत भएको छ।
विशेष महाधिवेशनको प्रस्ताव फिर्ता लिन कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गरेको आग्रह महामन्त्री गगनकुमार थापाले अस्वीकार गरेका छन्।
केन्द्रीय कार्यसम्पादन समिति बैठकमा खड्काले नियमित महाधिवेशनको कार्यसूची आइसकेकाले विशेष महाधिवेशन आवश्यक नरहेको तर्क गर्दै प्रस्ताव फिर्ता लिन आग्रह गरेका थिए।
तर महामन्त्री थापाले उक्त आग्रहलाई ठाडै अस्वीकार गर्दै विशेष महाधिवेशनको माग वैधानिक र अपरिहार्य रहेको बताएका छन्। बैठकमा थापाले नियमित महाधिवेशनको क्यालेन्डर सार्वजनिक भएपछि विशेष महाधिवेशनको अर्थ रहँदैन भन्ने तर्कलाई कमजोर र भ्रामक भन्दै आलोचना गरे।
चुनावअघि नेतृत्व परिवर्तनको मागलाई नियमित महाधिवेशनको बहानामा टार्न खोज्नु पार्टीका लागि घातक हुने उनको टिप्पणी थियो। महामन्त्री थापाले पार्टी विधान र वर्तमान राजनीतिक अवस्थाको विश्लेषण गर्दै प्रक्रियामा जान नचाहनु नै समस्या भएको बताए।
प्रक्रियाबाट भागेर विशेष महाधिवेशनलाई अवैधानिक ठहर गर्न खोज्नु कांग्रेसलाई अझ कमजोर बनाउने उनको चेतावनी थियो। थापाले विशेष महाधिवेशन माग गर्नु महाधिवेशन प्रतिनिधिहरूको वैधानिक अधिकार भएको दाबी गर्दै त्यसलाई अस्वीकार गर्नु लोकतान्त्रिक मूल्यविरुद्ध हुने बताए।
उनले विशेष महाधिवेशनको मूल उद्देश्य आगामी चुनावअघि पार्टीमा नयाँ नेतृत्व ल्याउनु रहेको पनि स्पष्ट पारे। ‘पार्टी असाधारण अवस्थामा छ। चुनावअघि नेतृत्व फेर्नुपर्ने आवश्यकता छ,’ थापाले बैठकमा भने, ‘यदि नियमित महाधिवेशनले यो आवश्यकता पूरा गर्न सक्दैन भने विशेष महाधिवेशन नै एकमात्र विकल्प हो।’
महामन्त्री थापाको स्पष्ट अडानसँगै कांग्रेसभित्र नेतृत्व परिवर्तन र विशेष महाधिवेशनको विषय अब आन्तरिक बहसमा सीमित नरही खुला शक्ति संघर्षको चरणमा पुगेको छ।












