सिंहदरबार जलाउने उक्साहटबारे शंकर पोखरेलको प्रश्न, बालेन साहतर्फ संकेत
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सिंहदरबार जलाउन उक्साउने व्यक्ति को हो भन्ने प्रश्न उठाएका छन्। उनले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो प्रश्न उठाउँदै काठमाडौ महानगरपालिकाका मेयर बालेन साहतर्फ संकेत गरेका हुन्।
महासचिव पोखरेलले भूकम्पबाट क्षतिग्रस्त बनेको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने जिम्मेवारी एमाले नेतृत्वको सरकारकै भएको उल्लेख गर्दै त्यसलाई जलाउन उक्साउने अभिव्यक्ति कसले दिएको हो भन्ने प्रश्न गरेका छन्।
‘अब प्रश्न गरौँ, भूकम्पले थिलोथिलो भएको सिंहदरबार पुरानै स्वरूपमा पुनर्निर्माण गर्ने को हो ? र त्यसलाई जलाउन उक्साउने र जलाउने को हो ?’ पोखरेलले फेसबुकमा लेखेका छन्।
उनको यो टिप्पणी केही महिनाअघि मेयर बालेन साहले सार्वजनिक बिदाको दिन उनकी श्रीमती चढेको सरकारी गाडी ट्राफिक प्रहरीले रोकेपछि सिंहदरबार जलाइदिने धम्की दिएको प्रसङ्गसँग जोडेर आएको हो। त्यस अभिव्यक्तिले त्यसबेला व्यापक चर्चा र आलोचना पाएको थियो।
पोखरेलले पछिल्लो समय देखिएको जेनजी आन्दोलनका क्रममा सिंहदरबार जलाइएको घटनालाई समेत स्मरण गराउँदै सार्वजनिक अभिव्यक्तिले समाजमा पार्ने प्रभावबारे प्रश्न उठाएका छन्। महासचिव पोखरेलको अभिव्यक्तिलाई मेयर बालेन साहलाई लक्षित टिप्पणीका रूपमा हेरिएको छ।












