कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्य विवाद समाधानका लागि आन्तरिक छलफलमा
Prime TV News ६ दिन अगाडि काठमाडौ । नेपाली कांग्रेसको संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूह पार्टीभित्र देखिएको विवाद समाधानका उपाय खोज्न आन्तरिक छलफलमा जुटेको छ।
समूहले पार्टी सभापति शेरबहादुर देउवा, इतर समूहका नेता डा. शेखर कोइराला तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग भेटघाट गरी विवाद समाधानका लागि पहल गर्न आग्रह गरिसकेको छ। सोही सिलसिलामा शुक्रबार उनीहरू आन्तरिक छलफलमा बसेका हुन्।
ललितपुरको कुपण्डोलमा आयोजित छलफल केन्द्रीय सदस्य डा. डिला संग्रौलाको निवासमा भएको जनाइएको छ। छलफलमा पार्टीभित्र चुलिँदै गएको महाधिवेशनसम्बन्धी विवाद र त्यसको व्यवस्थापनका सम्भावित उपायबारे विचार–विमर्श भएको केन्द्रीय सदस्य आङगेलु शेर्पाले बताए।
उनका अनुसार विशेषगरी नेता डा. शेखर कोइरालासँग महाधिवेशनको समय र प्रक्रियालाई लिएर देखिएको मतभेदमा मध्यमार्गी निकास निकाल्ने विषयमा छलफल केन्द्रित थियो। यसअघि उक्त समूहले निर्वाचनअगावै नियमित महाधिवेशन हुनुपर्ने पक्षमा ‘लबिङ’ गर्दै आएको छ।
सोही क्रममा २२ पुसमा नेता डा. शेखर कोइरालासँग तथा १८ पुसमा सभापति शेरबहादुर देउवासँग भेटघाट गरेको थियो। त्यसै दिन महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग पनि छलफल भएको थियो। पार्टीको १५ औँ महाधिवेशनको कार्यतालिकालाई लिएर बहस चलिरहेका बेला २५ सदस्यीय यो समूह निर्वाचनअघि नै महाधिवेशन सम्पन्न हुनुपर्ने अडानमा उभिएको छ।












