महँगी र आर्थिक संकटविरुद्ध इरानभर उग्र प्रदर्शन, ४५ जनाको मृत्यु
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । इरानमा विगत दुई सातादेखि जारी चर्को महँगी र आर्थिक संकटविरुद्धको जनप्रदर्शन बिहीबार राति थप उग्र बनेको छ।
अन्तर्राष्ट्रिय समाचार संस्था सीएनए र स्थानीय सञ्चारमाध्यमहरूका अनुसार प्रदर्शन देशभरका १०० भन्दा बढी सहरमा फैलिएको छ। अवस्था नियन्त्रण बाहिर जाँदै गएपछि सरकारले देशव्यापी रूपमा इन्टरनेट र टेलिफोन सेवा बन्द गरेको छ।
प्रदर्शनकारीहरूले ‘यो अन्तिम लडाइँ हो, शाह पहलवी फर्कनेछन्’ भन्दै नाराबाजी गरेका छन्। देशको दोस्रो ठूलो सहर मशहदमा प्रदर्शनकारीहरूले राष्ट्रिय झण्डा च्यात्दै आक्रोश व्यक्त गरेका छन्। तेहरानमा स्थिति नियन्त्रणमा लिने क्रममा एक प्रहरी अधिकारीको चक्कु प्रहारबाट मृत्यु भएको इरानी सरकारी समाचार एजेन्सी ‘फार्स’ ले जनाएको छ।
अमेरिकी मानव अधिकार निगरानी संस्थाका अनुसार प्रदर्शनका क्रममा भएको हिंसामा हालसम्म कम्तीमा ४५ जनाको ज्यान गएको छ भने २,२७० भन्दा बढी प्रदर्शनकारीलाई हिरासतमा लिइएको छ। सुरक्षाकर्मी र प्रदर्शनकारीबीच धेरै स्थानमा झडप भएको बताइएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानी सरकारलाई कडा चेतावनी दिएका छन्। प्रदर्शनकारीमाथि बल प्रयोग गरी हत्या गरिए अमेरिकाले इरानमाथि आक्रमण गर्न सक्ने उनले धम्की दोहोर्याएका छन्। “यदि उनीहरूले आफ्नै नागरिकलाई मार्न थाले भने, अमेरिकाले कडा प्रतिक्रिया जनाउनेछ,” ट्रम्पको भनाइ उद्धृत गर्दै अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।
यो आन्दोलन इरानका निर्वासित युवराज रजा पहलवीको अपीलपछि थप तीव्र भएको बताइएको छ। उनी इरानका अन्तिम शाह मोहम्मद रजा पहलवीका छोरा हुन्, जसलाई सन् १९७९ को इस्लामिक क्रान्तिका बेला सत्ताच्युत गरिएको थियो।
इरान गम्भीर आर्थिक संकटमा फसेको छ। डिसेम्बर २०२५ मा इरानी मुद्रा रियाल खस्केर प्रति अमेरिकी डलर करिब १४ लाख ५० हजार पुगेको छ । जुन ऐतिहासिक न्यून स्तर हो। वर्षको सुरुदेखि रियालको मूल्य करिब आधा घटिसकेको छ। खाद्य वस्तुको मूल्य ७२ प्रतिशत र औषधिको मूल्य ५० प्रतिशतसम्म बढेको छ। सन् २०२६ को बजेटमा सरकारले ६२ प्रतिशत कर वृद्धि प्रस्ताव गरेपछि जनआक्रोश झन् चुलिएको हो।












