नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी हुदै, राजधानीमा हल र मञ्च सजिँदै

User Image Prime TV News ५ दिन अगाडि
Image of नेपाली कांग्रेसको विशेष महाधिवेशनको तयारी हुदै, राजधानीमा हल र मञ्च सजिँदै

काठमाडौ । नेपाली कांग्रेसको विशेष महाधिवेशन पुस २७ देखि २८ गतेसम्म भृकुटीमण्डपमा हुने भएको छ। महाधिवेशनको भव्य र व्यवस्थित सञ्चालनको लागि तयारी तीव्र गतिमा अघि बढाइएको छ।

आयोजकका अनुसार हाल मञ्च निर्माण, हल सजावट, ध्वनि–प्रकाश व्यवस्थापन, प्रवेश–नियन्त्रण संरचना निर्माण लगायतका अन्तिम तयारी कार्य धमाधम भइरहेको छ। सम्पूर्ण भौतिक तयारी आजै वा भोलि बिहानसम्म पूरा गर्ने लक्ष्य राखिएको छ।

महाधिवेशन व्यवस्थापन समितिका संयोजकका अनुसार करिब एक हजार स्वयंसेवक परिचालन गरिनेछ। उनीहरूलाई प्रवेश व्यवस्थापन, प्रतिनिधि सहजीकरण, हल व्यवस्थापन, सूचना आदान–प्रदान र आकस्मिक सहयोगमा खटाइने योजना छ।

भृकुटीमण्डपमा हुने विशेष महाधिवेशनमा कुल ४,७४३ प्रतिनिधि सहभागी हुनेछन् भने ६० प्रतिशतभन्दा बढीको सहभागिता हुने अनुमान गरिएको छ। महाधिवेशन दुई दिनसम्म चल्नेछ, जसमा उद्घाटन सत्र, बन्द सत्र र घोषणासभा समावेश छन्।

उद्घाटन सत्रमा महामन्त्रीद्वय थापा र शर्मा मुख्य सम्बोधन गर्नेछन्। साथै पार्टीका शीर्ष नेताहरू, प्रभावशाली युवा नेताहरू र जेनजी पुस्ताका प्रतिनिधिहरूले पनि आफ्नो धारणा प्रस्तुत गर्ने कार्यक्रम छ।

देशभरका जिल्लाबाट कांग्रेस कार्यकर्ता तथा शुभेच्छुकहरू काठमाडौं आइरहेका छन्। उद्घाटन सत्रमा करिब ५० हजार कार्यकर्ता र शुभेच्छुकको सहभागिता हुने अपेक्षा गरिएको छ।