कांग्रेसभित्र शक्ति संघर्ष चुलिँदै, विशेष महाधिवेशन रोक्न र अघि बढाउन दुबै पक्ष सक्रिय

User Image Prime TV News ५ दिन अगाडि
Image of कांग्रेसभित्र शक्ति संघर्ष चुलिँदै, विशेष महाधिवेशन रोक्न र अघि बढाउन दुबै पक्ष सक्रिय

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर विवाद अब निर्णायक मोडमा पुगेको छ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा पुस २७ र २८ गते काठमाडौँको भृकुटीमण्डपमा हुने भनिएको विशेष महाधिवेशनको तयारी तीव्र भइरहँदा संस्थापन पक्ष र महामन्त्रीद्वयबीच शक्ति संघर्ष खुला रूपमा सतहमा आएको छ।

यसैबीच, नेता रमेश लेखकले महामन्त्री थापा र शर्मासँग संवाद गरेका छन्। शुक्रबार दिउँसो लेखकले महामन्त्री थापासँग प्रत्यक्ष भेटवार्ता गरेका थिए भने महामन्त्री शर्मासँग टेलिफोनमार्फत कुराकानी गरेका थिए।

लेखकले संवादलाई सामान्य भन्दै ठोस सहमति नभएको बताए पनि संस्थापन पक्षले विशेष महाधिवेशन रोक्न काउन्टर रणनीति अपनाइरहेका बेला भएको यो भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ।

कार्यवाहक सभापति पूर्णबहादुर खड्का र सभापति शेरबहादुर देउवाका विश्वासपात्र मानिने लेखकले संस्थापन पक्षको औपचारिक प्रतिनिधिका रूपमा नभई व्यक्तिगत रूपमा संवाद गरेको बताइएको छ। तर पार्टीभित्र बढ्दो तनावका बीच उनको सक्रियताले आन्तरिक समन्वयको प्रयास भइरहेको संकेत दिएको छ।

यसअघि बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले केन्द्रीय समिति बाहेक अन्य कुनै तहले बोलाउने विशेष महाधिवेशन विधानविपरीत हुने ठहर गरेको थियो।

बैठकले विशेष महाधिवेशनका नाममा गरिने कुनै पनि गतिविधिमा संलग्न नहुन पार्टीका सबै तहका पदाधिकारी, सदस्य, महासमिति सदस्य, महाधिवेशन प्रतिनिधि, भ्रातृ तथा शुभेच्छुक संस्था तथा विदेशस्थित नेपाली जनसम्पर्क समितिलाई अपिल गरेको थियो।

तर व्यवहारमा पार्टी पंक्ति विभाजित देखिएको छ। भक्तपुरका जिल्ला सभापति दुर्लभ थापाले पुस २८ गते जिल्ला सभापतिहरूको भेला बोलाउने तयारी गरेका छन्। नेपाल तरुण दलले विशेष महाधिवेशन उद्घाटनकै दिन पार्टी कार्यालय सानेपामा युवा भेला आयोजना गर्ने घोषणा गरेको छ।

संस्थापन पक्षले आफूनिकट प्रदेश, जिल्ला र प्रतिनिधिसभा निर्वाचन क्षेत्रका सभापतिहरूलाई विशेष महाधिवेशनको विपक्षमा विज्ञप्ति निकाल्न लगाएको छ। उता महामन्त्रीद्वय थापा र शर्मा निकट प्रदेश पदाधिकारी, जिल्ला सभापति तथा भ्रातृ संस्थाका पदाधिकारीहरूले विशेष महाधिवेशनको समर्थनमा लगातार विज्ञप्ति सार्वजनिक गरिरहेका छन्।

दुई दर्जनभन्दा बढी जिल्ला सभापतिले विशेष महाधिवेशनमा सहभागी हुन आह्वान गरेका छन् भने २५ जनाभन्दा बढी प्रदेश पदाधिकारीले पनि विशेष महाधिवेशनको पक्षमा उभिएको घोषणा गरिसकेका छन्। विभिन्न भ्रातृ संस्थाका पदाधिकारीहरू समेत औपचारिक रूपमा महामन्त्रीद्वयको पक्षमा देखिन थालेका छन्।

यता संस्थापन पक्षले ‘सशक्त र बलियो कांग्रेस बनाउन नियमित महाधिवेशनमा जुटौँ’ भन्ने नारा अघि सार्दै नियमित महाधिवेशन केन्द्रित अभियान चलाइरहेको छ। तरुण दलका केन्द्रीय अध्यक्ष विद्वान गुरुङले पुस २७ गते पार्टी कार्यालय सानेपामा हुने कार्यक्रममा सहभागी हुन मातहतका सबै समितिलाई निर्देशन दिएका छन्।

आगामी वैशाख २८–३१ मा हुने १५औँ महाधिवेशन र फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा कांग्रेसभित्रको यो विवाद अब केवल आन्तरिक छलफलमा सीमित नरही खुला शक्ति परीक्षणको चरणमा पुगेको छ।