उज्यालो नेपाल पार्टी र रास्वपासँग दूरी बढ्दै, कुलमान घिसिङको असन्तुष्टि
Prime TV News ५ दिन अगाडि 
काठमाडौ । उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीि बिचको सम्भावित सहकार्यमा गम्भीर दरार देखिन थालेको छ।
पार्टीका संरक्षक कुलमान घिसिङले रास्वपासँग मिलेर अगाडि बढ्न कठिन भएको धारणा पार्टी नेतृत्व तहमा राखेपछि राजनीतिक समिकरण फेरिन सक्ने संकेत देखिएको हो।
शुक्रबार बिहान घिसिङले रास्वपा सभापति रवि लामिछानेसँग करिब तीन घण्टा लामो छलफल गरेका थिए। त्यसलगत्तै दिउँसो उनले उज्यालो नेपाल पार्टीका शीर्ष नेताहरूसँग काठमाडौँको बौद्धमा झन्डै दुई घण्टा आन्तरिक छलफल गरे।
ती छलफलमा सहभागी नेताहरूका अनुसार घिसिङले रास्वपासँग सहकार्यका क्रममा केही आधारभूत विषय नमिलेको स्पष्ट रूपमा बताएका छन्। ‘एक–दुई होइन, मुख्य कुरा नै अड्किएको छ,’ घिसिङको भनाइ उद्धृत गर्दै छलफलमा सहभागी नेताहरूले बताएका छन्। उनका अनुसार रास्वपासँग मिलेर जान सहज छैन भन्ने सन्देश घिसिङले स्पष्ट शब्दमा राखेका थिए।
शीर्ष नेताहरूसँगको छलफलपछि घिसिङ अहिले पार्टीका केन्द्रीय सदस्यहरूसँग विस्तृत छलफलमा जुटेका छन्। काठमाडौँको बौद्धस्थित एक होटलमा सुरु भएको छलफलका लागि सबै केन्द्रीय सदस्यलाई पार्टीको आन्तरिक सूचनामार्फत उपस्थित हुन भनिएको थियो।
केन्द्रीय सदस्यहरूसँगको छलफलपछि रास्वपासँग सहकार्य गर्ने कि अलग राजनीतिक बाटो रोज्ने भन्ने विषयमा अन्तिम निष्कर्ष निकाल्ने घिसिङको तयारी रहेको नेताहरूको भनाइ छ। ‘अहिलेसम्म अलग हुने औपचारिक निर्णय भइसकेको छैन,’ एक नेताले भने, ‘तर रास्वपासँग अप्ठ्यारो परेको कुरा खुलेर राख्नुभएको छ।’
रास्वपासँगको सहकार्यलाई लिएर उज्यालो नेपाल पार्टीभित्र मत विभाजन देखिन थालेको अवस्थामा घिसिङको यो धारणा निर्णायक मानिएको छ।













