शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवासमा
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर चर्किएको विवादका बिच सभापति शेरबहादुर देउवा राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन्।
देउवा आफ्नै निवास महाराजगञ्जमा इतर समूहका नेता डा. शेखर कोइरालासँग भइरहेको भेटघाट अचानक छोट्याएर राष्ट्रपति भेट्न निस्किएका हुन्।
भेटको औपचारिक एजेन्डा सार्वजनिक नगरिए पनि यसको राजनीतिक अर्थ गम्भीर मानिएको छ। कांग्रेसभित्र नेतृत्व संकट, आन्तरिक अविश्वास र विशेष महाधिवेशनको मुद्दाले पार्टी अस्तव्यस्त बन्दै गएको अवस्थामा देउवाले राष्ट्रपति पौडेलसँग परामर्श खोजेको बुझाइ निकट नेताहरूको छ।
राष्ट्रपति पौडेल स्वयं कांग्रेस पृष्ठभूमिबाट राष्ट्रपतिको पदमा पुगेकाले पार्टीभित्रको विवाद समाधानका उपायबारे छलफल भएको हुन सक्ने अनुमान गरिएको छ।
हाल कांग्रेसभित्र दुई स्पष्ट धार देखिएका छन्। एकातिर देउवा पक्ष नियमित महाधिवेशनको कार्यतालिकामा अडिग छ भने अर्कोतिर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा इतर समूह विशेष महाधिवेशनको मागमा उभिएका छन्। नेतृत्वको स्पष्ट दिशा र निर्णय नहुँदा पार्टीभित्रको संकट झन् गहिरिँदै गएको छ।












