विशेष महाधिवेशनले राजनीतिक र संगठनमा पार्ने प्रभावबारे देउवा र शेखर कोइरालाबिच भेटवार्ता

User Image Prime TV News ५ दिन अगाडि
Image of विशेष महाधिवेशनले राजनीतिक र संगठनमा पार्ने प्रभावबारे  देउवा र  शेखर कोइरालाबिच भेटवार्ता

काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनलाई लिएर शक्ति संघर्ष झन् खुला रूपमा सतहमा आएको छ। यही क्रममा सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाबीच शनिबार भेटवार्ता भएको छ।

देउवा निवास महाराजगञ्जमा भएको भेटमा आइतबारदेखि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आह्वान गरेको विशेष महाधिवेशन नै मुख्य विषय बनेको छ। डा. कोइरालाका स्वकीय सचिव दिनेशचन्द्र थपलियाका अनुसार दुई नेताबीच विशेष महाधिवेशनको राजनीतिक र संगठनात्मक प्रभावबारे गम्भीर छलफल भएको हो।

महामन्त्रीद्वयले २ हजार ४८८ महाधिवेशन प्रतिनिधिले माग गरेको दाबी गर्दै पुस २७ र २८ गते विशेष महाधिवेशन आह्वान गरेका छन्। तर यसलाई पार्टी विधानविपरीत र असंवैधानिक कदम भन्दै संस्थापन पक्ष र डा. शेखर कोइरालाले नेतृत्व गरेको समूह खुलेआम विपक्षमा उभिएको छ।

विशेष महाधिवेशनलाई कसरी रोक्ने, कमजोर बनाउने वा राजनीतिक रूपमा असफल बनाउने भन्ने रणनीति तय गर्न डा. कोइरालाले सभापति देउवासँग भेट गरेको बुझिएको छ।

अघिल्लो महाधिवेशनमा देउवाका कडा प्रतिस्पर्धी रहेका कोइराला यसपटक भने विशेष महाधिवेशनको मुद्दामा संस्थापनसँगै उभिएका छन्, जसले पार्टीभित्रको अवसरवादी राजनीतिलाई अझ स्पष्ट पारेको छ।

कांग्रेसभित्र नेतृत्वले समस्या समाधान गर्न नसक्दा विवाद नियन्त्रणबाहिर जान थालेको छ। महामन्त्रीहरू खुलेआम सभापतिविरुद्ध उत्रिएका छन् भने सभापति र इतर समूह आन्तरिक लोकतन्त्रको नाममा उठेको मागलाई दबाउने रणनीतिमा जुटेका छन् ।