इरानका नेता खामेनी र ट्रम्पबीचको वाकयुद्धले मध्यपूर्वमा तनाव

User Image Prime TV News ४ दिन अगाडि
Image of इरानका नेता खामेनी र ट्रम्पबीचको वाकयुद्धले मध्यपूर्वमा तनाव

काठमाडौ । इरानका सर्वोच्च नेता अयातोल्लाह अली खामेनी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबीचको वाकयुद्धले मध्यपूर्वको तनावलाई झन् खतरनाक मोडमा पुर्‍याएको छ।

इरानमा जारी विरोध प्रदर्शन र त्यसबारे ट्रम्पले दिएको टिप्पणीपछि खामेनीले सामाजिक सञ्जालमार्फत ट्रम्पमाथि तीव्र आक्रमण गरेका छन्।

खामेनीले ट्रम्पलाई इतिहासका तानाशाही र अहंकारी शासकहरूसँग तुलना गर्दै फिरउन, निमरुद र इरानका पूर्व राजा मोहम्मद रेजा पहलवीको उदाहरण दिएका छन्।

ती सबै शासकहरूको पतन अहंकार चरम सीमामा पुगेपछि भएको भन्दै ट्रम्प पनि त्यसैको नियति भोग्नुपर्ने दाबी खामेनीले गरेका छन्। उनका अनुसार संसारमाथि घमण्डका साथ निर्णय गर्ने सोच आफैं विनाशको कारण बन्छ।

खामेनीले इरान आज क्रान्तिअघि भन्दा धेरै सशक्त भएको दाबी पनि दोहोर्‍याएका छन्। आध्यात्मिक शक्ति, जनसमर्थन र सैन्य क्षमताका हिसाबले इरान बलियो अवस्थामा रहेको भन्दै अमेरिकाले अझै पुरानै नजरले इरानलाई बुझ्नु ठूलो भूल हुने चेतावनी दिएका छन्। उनले लाखौँ मानिसको बलिदानबाट बनेको इरान कुनै पनि आक्रमण वा दबाबसँग सम्झौता नगर्ने स्पष्ट पारेका छन्।

हालै भएको १२ दिने युद्धको सन्दर्भ उठाउँदै खामेनीले हजारभन्दा बढी इरानी नागरिकको ज्यान गएको बताएका छन्। अमेरिकी राष्ट्रपतिले उक्त आक्रमणको आदेश आफूले दिएको स्वीकार गरेको दाबी गर्दै खामेनीले इरानीहरूको रगत ट्रम्पकै हातमा लागेको आरोप लगाएका छन्।

यस्तो पृष्ठभूमिमा ट्रम्पले आफू इरानी जनताको पक्षमा रहेको दाबी गर्नु ढोंग र पाखण्ड मात्र भएको उनको टिप्पणी छ। खामेनीले ट्रम्पलाई भेनेजुएला प्रकरणमा पनि निशाना बनाएका छन्।

ल्याटिन अमेरिकाको एउटा देशलाई तेलका लागि घेरेर हस्तक्षेप गरेको र त्यसलाई खुलेआम स्वीकार गर्नु अमेरिकाको साम्राज्यवादी चरित्रको नाङ्गो प्रमाण भएको उनको भनाइ छ।

यसैबीच इरानभित्र बढ्दो महँगी र बिग्रँदो आर्थिक अवस्थाविरुद्ध दुई हप्तादेखि व्यापक आन्दोलन चलिरहेको छ। प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारीबीच झडप हुँदा कम्तीमा ४० जनाको मृत्यु भइसकेको छ।

यहि आन्दोलनलाई लिएर ट्रम्पले शान्तिपूर्ण प्रदर्शनकारीको हत्या नरोकिए अमेरिका हस्तक्षेप गर्न तयार रहेको चेतावनी दिएका थिए। ट्रम्पको उक्त अभिव्यक्तिपछि खामेनीले इरानमा भइरहेको आन्दोलनलाई ‘ट्रम्पलाई खुसी पार्न खोज्ने बदमासहरूको समूह’को काम भन्दै खारेज गरेका छन्। उता ट्रम्पले भने इरानको दोस्रो ठूलो सहर मसहद प्रदर्शनकारीको नियन्त्रणमा गएको दाबी गरेका छन्।