विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा रुपान्तरण गर्नुपर्छ: नेता भण्डारी
Prime TV News ४ दिन अगाडि 
काठमाडौ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले विशेष महाधिवेशनलाई टकराव र शक्ति प्रदर्शनको माध्यम नबनाउन कडा चेतावनी दिएका छन्।
पार्टीभित्र चर्कँदै गएको विवादका बीच उनले विशेष महाधिवेशनलाई नीति महाधिवेशनका रूपमा सीमित गर्दै संकल्प प्रस्ताव मात्र पारित गरेर टुंग्याउनुपर्ने धारणा सार्वजनिक गरेका छन्।
शनिबार काठमाडौँको बत्तीसपुतलीमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले विशेष महाधिवेशनका नाममा देशभरबाट प्रतिनिधि भेला भइसकेको अवस्थामा पार्टीलाई विभाजनतर्फ धकेल्ने गतिविधि नरोकिने हो भने त्यसको परिणाम गम्भीर हुने बताए।
उनले विशेष महाधिवेशनलाई नीतिगत सम्मेलनको रूपमा रूपान्तरण गरेर आगामी नियमित महाधिवेशनका लागि वातावरण बनाउनु नै विवेकपूर्ण विकल्प भएको उल्लेख गरे।
भण्डारीले चार महिनापछि हुने नियमित महाधिवेशनलाई केन्द्रमा राख्दै अहिलेको विशेष महाधिवेशनबाट नीति, दृष्टिकोण र प्रतिबद्धता समेटिएको संकल्प प्रस्ताव पारित गरेर फर्किन विशेष महाधिवेशन पक्षधरलाई आग्रह गरे। उनका अनुसार यसो गर्न सके पार्टीभित्र उत्साह पनि कायम रहन्छ र अनावश्यक शक्ति संघर्ष पनि टर्छ।
उनले कुनै पनि हालतमा नेपाली कांग्रेस विभाजन हुन नहुने स्पष्ट शब्दमा बताए। विशेष महाधिवेशन कुनै एक गुट वा समूहको कार्यक्रम नभई सम्पूर्ण पार्टीको साझा अभियान हुनुपर्ने उनको भनाइ छ।
पार्टीलाई कमजोर बनाउने, जनविश्वास घटाउने र आन्तरिक झगडालाई प्राथमिकता दिने काम अब असह्य भइसकेको भन्दै उनले नेतृत्वलाई जिम्मेवार बन्न आग्रह गरे।













