राजनीतिक दललाई निषेध गर्न खोन्ने शक्ति परास्त भएको ओलीको दावी

User Image Prime TV News ४ दिन अगाडि
Image of राजनीतिक दललाई निषेध गर्न खोन्ने शक्ति परास्त भएको ओलीको दावी

काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थापित राजनीतिक दललाई निर्वाचनमा भाग लिन नदिने र घरबाट बाहिर निस्कनै नदिने धम्की दिने समूहलाई पार्टीले परास्त गरिसकेको दाबी गरेका छन्।

११औँ महाधिवेशनपछिको दोस्रो केन्द्रीय कमिटी बैठकमा देशको अवस्थाबारे ब्रिफिङ गर्दै ओलीले यस्तो बताएका हुन्। ओलीले ‘माकाफुइँ’ प्रवृत्तिले लोकतान्त्रिक व्यवस्थामाथि आक्रमण गर्न खोजे पनि एमाले त्यसविरुद्ध दृढतापूर्वक उभिएको बताए।

जेनजी आन्दोलनपछि आफूमाथि बदनियतका साथ लगाइएका आरोपको सामना गरिएको उल्लेख गर्दै उनले एमाले कमजोर बनाउन आगामी दिनमा पनि यस्ता आक्रमण दोहोरिन सक्ने चेतावनी दिए। त्यस्ता गतिविधिसँग नझुक्ने र डटेर सामना गर्ने तयारीमा पार्टी रहनुपर्ने उनको भनाइ थियो।

उनले पछिल्लो समय राजनीतिक ध्रुवीकरण बढेको भन्ने प्रचारलाई पनि खारेज गरे। नयाँ दल र पुराना दलबीच ध्रुवीकरण भएको भन्ने चर्चा वास्तविक नभएको भन्दै ओलीले अहिलेको मुख्य विभाजन विध्वंस र अराजकताको पक्षमा उभिनेहरू र त्यसको विरोध गर्ने शक्तिहरूबीच हुन सक्ने स्पष्ट पारे।

फरक सन्दर्भमा ओलीले महाधिवेशनमा प्रतिस्पर्धा गरेकै आधारमा जिम्मेवारी बाँडफाँटमा कुनै विभेद नहुने बताए। सबै नेता–कार्यकर्तालाई समेटेर पार्टी एकताबद्ध रूपमा अघि बढ्ने र सिंगो एमाले एक भएर आगामी निर्वाचनमा जानेमा उनले जोड दिए।