विशेष महाधिवेशन पक्षधरले देउवा र खड्कालाई अतिथिका रूपमा निम्ता
Prime TV News एक महिना अगाडि 
काठमाडौ । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको विवाद झन् चर्किँदै गएको छ। विशेष महाधिवेशन पक्षधर समूहले पार्टी सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई औपचारिक निमन्त्रणा पठाएको छ।
देउवालाई प्रमुख अतिथि र खड्कालाई विशिष्ट अतिथिका रूपमा कार्यक्रममा सहभागी हुन आग्रह गरिएको हो। महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आइतबार र सोमबार काठमाडौँको भृकुटीमण्डपमा विशेष महाधिवेशन आह्वान गरिएको छ।
तर उक्त महाधिवेशनलाई पार्टीको संस्थापन समूह तथा डा. शेखर कोइरालाको नेतृत्वमा रहेको इतर समूहले मान्यता नदिएको स्पष्ट भइसकेको छ। पार्टीका मुख्य दुई धारले अस्वीकार गरेको कार्यक्रमका लागि शीर्ष नेतृत्वलाई अतिथि बनाउने प्रयासलाई कांग्रेसभित्र शक्ति प्रदर्शन र दबाबको राजनीतिका रूपमा हेरिएको छ।
यसले पार्टीभित्रको आन्तरिक द्वन्द्व अब लुकाएर राख्न नसकिने तहमा पुगेको देखाएको छ। विशेष महाधिवेशन विधानअनुसार हो कि होइन भन्ने प्रश्न अझै टुंगो लाग्न सकेको छैन।













